आर्थिक

टेलिकमका डाटा प्याकेज अनलाइनको माध्यमबाट खरिद गर्न सकिने

काठमाण्डौ । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ ।

यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी (offer.net.net.np)  मा लग अन (Log On) गर्नु पर्छ । त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नु पर्छ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिन्छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके (PUK) नम्बर राख्नु पर्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने टेलिकमले बताएको छ।

सबै विवरण भरेर बाइ डाटा प्याक (Buy Data Pack) बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु आवश्यक छ ।

नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा *1415# डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिन्छ । तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो । यसबाट ग्राहक वर्गलाई डाटा प्याकेज लिन थप सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ ।