राजनीति

यस्तो छ केपी ओलीको चीन भ्रमणको रहस्य, सतर्क रहौ प्रधानमन्त्री देउवा !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार साताव्यापी चीन भ्रमणमा निस्किएका छन् । चीनको स्वशाशित क्षेत्र तिब्बतमा अवस्थित कैलाश मानसरोवरको अवलोकन यात्रामा निस्किएका भनिएका अध्यक्ष ओलीले तिब्बतको ल्हासामा चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गर्ने कुरा समेत बाहिर आएको छ ।

यसले अध्यक्ष ओलीको भ्रमण कैलाश मानसरोवरको भ्रमणमा मात्र सिमित नरहने आंकलन गर्न सकिन्छ ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारको नेतृत्व गर्दा चीनसँग गरेका दीर्घकालीन सम्झौता र तिनको कार्यान्वयनका विषयमा समेत छलफल गर्नुहुने आंकलन गरिएको छ ।

एमाले श्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जीनपीङको विशेष आमन्त्रणामा चीन भ्रमणमा निस्किएका भनिएका अध्यक्ष ओलीको भ्रमण चिनियाँ राजधानी बेइजिङ सम्मकै हो वा तिब्बतको ल्हासा र कैलाश मानसरोवरसम्मको हो, त्यो भने केही खुलाइएको छैन तर यतिचाहि स्पष्ट हो, अध्यक्ष ओलीले चिनियाँ उच्च अधिकारीहरुसँग आन्तारिक वार्ता भने गर्ने निश्चित छ, किनभने पार्टीलेनै आधिकारिक रुपमा चिनियाँ अधिकारीहरुसँग उच्च भेटवार्ता गर्ने कुराको पुष्टि गरेपछि यसको पुष्टि भएको हो ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भन्दै बैंकका गएका थिए । बैंककमा उनले भारतीय र चिनियाँ प्रतिनिधिहरुसँग भेटघाट गरेका भन्ने खबर सार्वजनिक भइरहेका छन् ।

प्रचण्डसँग जोडिएर आएको सो खबरलगत्तै एमाले अध्यक्ष ओलीको तिब्बत यात्रा र चिनियाँ उच्च अधिकारीसँग हुने भनिएको वार्तालाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । यद्यपि, एमाले निकट श्रोतका अनुसार भने उनको भ्रमण विशुद्ध कैलाश मानसरोवर सम्मको भन्ने कुरा पनि आइरहेका छन् ।

उता, अध्यक्ष ओली लगायत उनको नीजि पारिवारिक टोलीसमेत सँगै रहेकोले अध्यक्ष ओली कैलाश मानसरोवरको यात्रामा निस्किनुभएको संकेत पनि मिल्छ तर यो यात्रा कस्तो खालको यात्रा हो त ? यसबारेमा सबैलाई कौतुहलता समेत लागिरहेको छ ।

यद्यपि, राजनीतिक र कुटनीतिक दृष्टिकोण र पछिल्ला विकसित राजनीतिक घटनाक्रमलाई समेत जोडेर हेर्ने हो भने अध्यक्ष ओलीको चीन भ्रमणलाई दुई तहमा विभाजन गरेर हेर्न सकिन्छ ।

भ्रमणका सम्भावित दुई कारण

पहिलो, अध्यक्ष ओलीको चीन भ्रमणलाई कुटनीतिक दृष्टिकोणबाट हेर्नेहरुको जमात पनि निकै देखिएको छ । दोश्रो चरणको निर्वाचनलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने योजना तय भएको थियो । त्यसका लागि साउनको दोश्रो वा तेश्रो हप्ताको तयारी तिव्र रुपमा भैरहेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतीय प्रतिनिधिहरु यसका लागि तीव्र रुपमा खटिरहेका छन् ।

मन्त्रिपरिषद विस्तार गरेर भारत जाने तयारीमा रहेका प्रधानमन्त्रीले अहिलेसम्म सरकार विस्तारनै गर्न सकेका छैनन् । त्यही बीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा पत्नी सीताको उपचारका नाममा भएको बैंकक भ्रमणमा पनि चिनियाँ र भारतीय प्रतिनिधिसँगको भेटको कुरा आइरहेको छ । त्यसको लगत्तै एमाले अध्यक्ष ओली पनि चीन भ्रमणमा निस्कएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना पार्टीका उच्च नेता र चिनियाँ राजदूतावासका प्रतिनिधिहरुले समेत विदाई गर्नुले ओलीको चीन भ्रमण निकै अर्थपूर्ण रहेको अड्कल काटिदैछ । यी भ्रमण र राजनीतिक–कुटनीतिक गतिविधिले निकट भविष्यमै नेपाली राजनीतिक परिदृष्यमा प्रभाव पर्न सक्ने आंकलन गरिदैछ । यसले दुई छिमेकी मुलुकको चासोलाई ह्वात्तै बढाइदिएको प्रमाणित हुन्छ ।

दोश्रो, अध्यक्ष ओलीले तिब्बतको कैलाश मानसरोवरकै यात्रामा निस्किएर पनि केही चिनियाँ अधिकारीहरुलाई भेट्ने र आफ्नो पारिवारिक यात्रामा सिमित रहने आँकलन पनि गरिदैछ, किनभने अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा देखिनै तिब्बतमा रहेको विश्वको आकर्षणको केन्द्रविन्दु कैलाश मानसरोवर घुम्ने इच्छा व्यक्त गरेका थिए र अहिले उनले सोही इच्छालाई पुरा गर्न यो यात्रा तय गरेका हुन् ।

यो विषयमा एमालेका माथिल्लो तहका नेताहरुले समेत पुष्टि गरिसकेका छन् । यद्यपि,नेपालको पूर्वप्रधानमन्त्रीले आफ्नो मुलुकभित्र भ्रमण गर्दा चिनियाँ अधिकारीहरुले भेटवार्ता गर्ने इच्छा व्यक्त गर्नु स्वाभाविक पनि हुन जान्छ ।

त्यतिमात्र होइन, पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा एमाले मुलुककै सबैभन्दा ठूलो र प्रभावशाली दल बनेलगत्तै मुलुकको राजनीतिक रंगमञ्चमा एक्कासि नयाँ परिदृष्यका संकेत देखापर्न थालेको देखिन्छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालका अभिव्यक्तिले त्यसको संकेत दिएको जानकारहरु बताउँछन् ।

अध्यक्ष ओलीले केही दिन अघिमात्र माओवादीलाई कांग्रेसँगको मोह छाडेर एमालेसँग मिल्न आग्रह गर्नु र प्रचण्डले आफ्नो पार्टीको बैठकमा प्रधानमन्त्री देउवाबारे पोखेको कुण्ठाले मुलुकको राजनीतिक परिदृष्यमा छिट्टै फेरबदल आउन सक्ने सम्भावित संकेतका रुपमा लिन थालिएको छ ।

यो सवालमा कांग्रेसले समेत सचेतता अप्नाउनुपर्ने सो पार्टी निकट नेता–कार्यकर्ताहरु बताउन थालेका छन् । यद्यपि, सत्तारुढ दलका प्रमुखहरु प्रचण्ड र देउवाले लगत्तै सरकार निर्माण गर्ने (सम्भवत सोमबारनै) संकेत दिएका छन् । सरकार विस्तारपछिको परिदृष्य कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ ।

यद्यपि, अध्यक्ष ओलीले गर्ने भनिएको चिनियाँ उच्च अधिकारीहरुसँगको भेटमा आफु प्रधानमन्त्री हुँदा गरिएको सम्झौताहरुको बारेमा गम्भीर बहस हुनसक्ने आंकलन गरिएको छ ।