खेलकुद

मोराटालाई भित्र्यायो चेल्सीले

एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले स्पेनिस च्याम्पियन रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ । चेल्सीले मोराटालाई क्लबको कीर्तिमानी मूल्य ६ करोड पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गरेको हो । स्पेनिस मोराटाले गएको सिजन च्याम्पियन्स लिग तथा ला लिगा च्याम्पियन रियल मड्रिडका लागि २० गोल गरेका थिए ।

उनी गएको सिजन इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरोनो क्लब रियल मड्रिड फर्किएका थिए । उनले गएको सिजन रियललाई महत्वपूर्ण जित दिलाउन भूमिका खेले पनि उनी धेरै जस्तो खेलमा थप खेलाडीको रुपमा मैदान छिरेका थिए । मोराटा अब चेल्सीको प्रिसिजन एसिया भ्रमण टिममा सहभागी हुने सम्भावना छ ।

चेल्सीले यसअघि सन् २०११ को जनवरीमा फर्नान्डो टोरेसलाई क्लबको कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो । त्यसबेला लिभरपुलबाट टोरेसलाई क्लब भित्र्याउन चेल्सीले पाँच करोड पाउण्ड तिरेको थियो ।

अल्भारो मोराटा उत्कृष्ट खेलाडी रहेको र उनको क्षमता क्लबका लागि ठूलो सहायता सिद्ध हुने चेल्सीका प्राविधिक निर्देशक माइकल इमेनालोले बताए । मोराटाले चेल्सीमा स्पेनिस टिमका साथी खेलाडी डिएगो कोस्टालाई प्रतिस्थापन गर्ने सम्भावना छ । प्रशिक्षक एन्टोनियो कोन्टेले चेल्सीमा कोस्टाका लागि ठाउँ नरहेको बताइसकेका छन् ।

मोराटालाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको थियो । तर उसले एभर्टनबाट रामेलु लुकाकुलाई अनुबन्ध गरिसकेको छ ।