राजनीति

अन्तर्घातका कारण पार्टी दोस्रो -डा महत

प्रकाश शरण महत

धुलिखेल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले निर्वाचनमा व्यक्तिगत स्वार्थको भीड बढेकाले पार्टी हारेको बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेस बनेपा नगरसमितिद्वारा ३५औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित ‘बिपी विचार एवं सांस्कृतिक कार्यक्रम’मा उनले काँग्रेसभित्रकै अन्तर्घात ठूलो रोग भएको बताए । विपक्षीभन्दा आफ्नै आन्तरिक कारणले काँग्रेसको हार भएकाले अब तत्कालीन लाभलाई छोडेर दीर्घकालीन लाभ लिने प्रण गरी पार्टीलाई अगाडि बढाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेसका पूर्वजिल्ला सभापति शिवप्रसाद हुमागाईंले पार्टीभित्र अनुशासन र एकता नभएका कारण काँग्रेसको गढ बनेपामा हार भएको बताए ।

त्यस्तै काँग्रेसका पूर्वउपसभापति तीर्थ पसखलले “पार्टीभित्र निषेधको राजनीति बढी चल्न थाल्यो, जसका कारण पार्टीका मान्छे जबर्जस्ती अरु पार्टीमा जाने वातावरण बन्यो”– भने ।