राजनीति

वीपी भन्ने गर्थे, ‘प्रजातन्त्र प्राप्तिपछि चिल्ला, सुकिलाहरुको पार्टीमा हावी हुनेछ, त्यसविरुद्ध सच्चा कार्यकर्ताहरुले संघर्ष गर्नुपर्नेछ ।’

काठमाण्डौ । नेपाली कांग्रेसका संस्थापक नेता एवम् महामानव स्व.वीपी कोइरालाको आज ३५ औं जन्मजयन्ती भव्यताका साथ मनाइदैछ । नेपाली कांग्रेसले आज देशभर उनको सम्झनामा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ । नेपालको राजनीतिक इतिहासमा स्व. कोइरालाको योगदान निकै ठूलो छ । उनको नेतृत्वमा स्थापना भएको नेपाली कांग्रेसले राणा शासनको अन्तदेखि पछिल्लो २०६२–६३ को जनआन्दोलन हुँदै नयाँ संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

नेपाली कांग्रेस यसबेला मुलुककै शक्तिशाली पार्टीहरुमध्येमा पर्दछ । जुन पार्टीलाई यो उचाईमा ल्याउन महामानव वीपी कोइरालाको ठूलो योगदान रहेको छ ।  सन् १९१४ सेप्टेम्बर ८ मा भारतको वाराणसीमा जन्मिएका कोइरालाको राजनीतिक जीवन भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनमा सहभागि भएर सुरु भएको थियो ।

उक्त आन्दोलनमा लागेकै कारण वीपी र उनका भाई मातृका कोइरालालाई सन् १९३० मा तीन महिनासम्म बेलायत सरकारले कैद गरेको थियो । त्यसपछि नेपाल फर्किएका वीपीले सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए, जसलाई अहिले हामी नेपाली कांग्रेस भनेर चिन्ने गर्छौ ।

कांग्रेसको स्थापना गर्दै गर्दा विराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई सरकारले एक वर्ष कैद गरेको थियो । कोइरालाको नेतृत्वमा सन् १९५१ मा राणा शासन विरुद्ध सैनिक विद्रोहको सुरुवात भएको थियो । त्यसको लगत्तै राणाशासनको अन्त भएको थियो ।

त्यसपछि २०१६ सालमा उनको नेतृत्वमा सरकार गठन भएको थियो । त्यसको एक वर्ष नपुग्दै प्रधानमन्त्री कोइराला नेतृत्वको सरकार विघठन गरियो । तत्कालीन राजा महेन्द्रले गरेको कू बाट प्रजातान्त्रिक सरकार विघटन गरिएको थियो । त्यसपछि वीपीले ८ वर्ष जेल जीवन विताए । आठ वर्षको जेल यात्रापछि उनलाई निर्वासन पठाइयो ।

निर्वासनमै रहेका बेला उनी नेपाल फर्किएर मेलमिलापको नीति अख्तियार गर्ने नारा अघि सारे । सोही बीचमा उनलाई फेरि देशद्रोहका अभियोगमा कैद गरियो । अन्तर्राष्ट्रिय दबाबका कारण उनलाई पुन कैदमुक्त भए । त्यसको लगत्तै सन् १९८२ मा उनको मृत्यु भएको थियो । वीपी जहिल्यै पार्टीलाई कसरी राम्रो बनाउने भन्नेमा सोच विचार गरिरहन्थे ।

उनी भन्ने गर्थे, ‘प्रजातन्त्र प्राप्तीपछि चिल्ला सुकिलाहरुको पार्टीमा हावी हुनेछ, त्यसविरुद्ध सच्चा कार्यकर्ताहरुले संघर्ष गर्नुपर्ने हुन्छ ।’ वास्तवमा कांग्रेसभित्र अहिले यो प्रवृत्ति पनि हावी भएको देखिन्छ । त्यसैले सो पार्टीभित्रको एउटा ठूलो पंक्तिले उनका यी भनाईको अनुसरण गर्नुपर्ने माग उठाइरहेको छ ।