मनोरञ्जन

नेपाली चलचित्र उद्योगमा देखियो अब शुभ संकेत !

काठमाण्डौ । नेपाली चलचित्र उद्योग नेपाली भाषाका चलचित्र निर्माण गर्ने उद्योग हो । नेपाली चलचित्र उद्योगले काठमाडौंमा मात्र नभई मुलुक र मुलुक बाहिर पनि प्रभाव पार्ने क्रम जारी छ । नेपालमा चलचित्र विकासक्रम केही ढिलो सुरु भएपनि हाल यो क्षेत्र सशक्त बनिरहेकोे देखिन्छ ।

नेपाली चलचित्र उद्योगले विभिन्न चरणहरु पार गरेर आधुनिक प्रविधिको युगमा आफुलाई समायोजन गरिसकेको छ । यो पटक हामीले नेपाली फिल्म ऐतिहासिक विकासक्रमलाई यहाँ समेट्ने जमर्को गरेका छौ ।

नेपाली फिल्मको सुरुवाती चरण
नेपाली भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्र हो । यसलाई डी.बी परियारले वि.सं २००७ मा कलकत्तामा बनाएका थिए । यस फिल्मको रिलिज २००८ मा नारायणहिटी दरबारमा भएको थियो ।

नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमा हो । यसलाई वि.सं २०२० मा हिरासिंह खत्रीले बनाएका थिए । चलचित्रमा शिवशंकर मानन्धर र भुवन चन्दको अभिनय थियो ।

जसलाई नेपाली सिनेमाको पहिलो नायक–नायिका मानिन्छन । सरकारी लगानीमा निर्मित चलचित्र आमाको निर्माण सुरु हुनु अगावै नीजि लगानीमा वि.सं २०१८ बाट निर्माण सुरु गरिएको चलचित्र माइतीघर भने चलचित्र आमा पछाडि मात्र रिलिज भयो । नेपालको पहिलो रंगीन चलचित्र कुमारी वि.सं २०३४ मा प्रेमबहादुर बस्नेतले बनाएका थिए ।

स्वर्णिम युग
सन् १९८० पछि धेरै रचनात्मक फिल्महरु बन्न थाले, जुन नेपाली चलचित्र उद्योगमा चर्चित पनि हुँदै गए । जसका कारण धेरै निर्माण कम्पनीको आगमन भयो । धेरै सिनेमा बन्न थाले । सम्झना,कुसुमे–रुमाल, लाहुरे,कान्छी,वासुदेव, साइनो र कोसेली सन् १९८४ देखि १९९३ मा रिलिज भएका उत्कृष्ट चलचित्रहरु हुन् ।

भुवन केसी र तृप्ति नदाकर त्यतिबेलाका उत्कृष्ट जमेका जोडी मानिन्थ्यो । दशकको पछिल्ला बर्षहरुमा नेपाली सिनेमा जगतमा राजेश हमाल र करिश्मा मानन्धरको आगमन भयो ।

सन् १९९० को राजनीतिक परिवर्तनपछि चलचित्र क्षेत्र पनि अगाडि बढ्यो र ३ बर्षमा १४० चलचित्र निर्माण भए । माओवादी द्धन्द्धले गर्दा सन् १९९० को दशकको मध्यतिर चलचित्र क्षेत्र ओरालो लाग्यो र दर्शकको कमीले गर्दा यो क्षेत्र ठप्प भयो ।

सन् २००१ मा चलचित्र दर्पणछाया बन्यो । जुन चलचित्रको निर्माता तुलसी घिमिरे थिए । उक्त फिल्ममा दीलिप रायमाझी, निरुता सिंह, उत्तम प्रधानको अभिनय थियो । यो चलचित्रले ७० लाख कमाउन सफल भएको थियो ।
वर्तमान अवस्था
सन् २००६ को सहज वातावरणपछि निर्माण क्रम बढ्न थाल्नुको साथै चलचित्रको व्यपार पनि बढ्न थाल्यो । नयाँ पुस्ताका निर्माताहरु संवेदनशील र मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न थाले ।

त्यपछि लगातार कागबेनी, सानो संसार, मेरो एउटा साथी छ, फस्ट लव, कोही मेरो जस्ता सफल चलचित्र बने । सन् २०१२ मा रिलिज भएको फिल्म लुटले कुल ५ करोडको कारोबार गरेर व्यावसायिक रुपमा ब्लकबस्टर भयो । त्यसलगतै आएका चलचित्र चपली हाइट, नाई नभन्नु ल–२ ले पनि राम्रो कारोबार गर्यो ।

त्यसपछि सन् २०१४ मा रिलिज भएको चर्चित स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र कोहिनुरले १२ करोडको कारोबार गेरर चलचित्र उद्योगमा राम्रो नाम कमाउन सफल भयो । त्यसैगरी कबड्डी–कबड्डी, होस्टेल, पशुपतिप्रसाद, ड्रिम्स, प्रेमगीत जस्ता फिल्मले पनि राम्रो नाम कमाए । र सन् २०१६ मा आएको चलचित्र छक्का–पन्जा भने सबै भन्दा बढि पैसा कमाएर ब्लकबस्टर हुन पुग्यो ।

यस चलचित्रको निर्माता दिपाश्री निरौला हुन् । चलचित्रमा मुख्य भूमिका प्रियंका कार्की र दिपकराज गिरीको रहेको छ भने केदार घिमिरे, शिबहरि पौडेल, जितु नेपाल,बर्षा राउत, नम्रता सापकोटा, आर्यन सिग्देल लगायतको अभिनय छ ।

८५ लाखको बजेटमा बनेको चलचित्रले कुल २४ करोडको कारोबार गरेको हो । यसैगरी नेपाली चलचित्र उद्योगले दिनदिनैै सफलताको खुड्किलो चढ्न सफल भइरहेको छ ।