खेलकुद

स्ट्राइकर मोराटाले छाडे रियल मर्डिड

एजेन्सी । च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटा इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीमा अनुबन्धित हुने भएका छन् । चेल्सी मोराटालाई झण्डै ६ करोड पाउण्डमा क्लब भित्र्याउन सहमत भएको हो ।

२४ वर्षका स्पेनिस खेलाडी मोराटासँगको अनुबन्धन सम्झौताका लागि व्यक्तिगत केही कुरा र स्वास्थ्य परीक्षण मात्रै बाँकी रहेको छ ।

गएको सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा २० गोल गरेका थिए । उनी गएको सिजन इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरोनो क्लब रियल मड्रिड फर्किएका थिए ।

उनले गएको सिजन रियललाई महत्वपूर्ण जित दिलाउन भूमिका खेले पनि उनी धेरै जस्तो खेलमा थप खेलाडीको रुपमा मैदान छिरेका थिए ।
मोराटा चेल्सी आएपछि स्पेनिस टिमका साथी खेलाडी डिएगो कोस्टालाई प्रतिस्थापन गर्ने सम्भावना छ । प्रशिक्षक एन्टोनियो कोन्टेले चेल्सीमा कोस्टाका लागि ठाउँ नरहेको बताइसकेका छन् ।

मोराटालाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको थियो । तर उसले एभर्टनबाट रामेलु लुकाकुलाई अनुबन्ध गरिसकेको छ ।