राजनीति

कांग्रेसमा देउवाको नेतृत्वबारे यी तीन नेताले निकाले यस्तो निश्कर्ष, अब के होला ?

काठमाण्डौ । कांग्रेस नेतृत्वको सुस्त कार्यशैली र गुटबन्दीका कारण पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रिय राजनीतिमा क्रियाशील कोइराला परिवारका तीन नेताले बुधबार एकै स्वरमा पार्टी संगठन एक बनाउने अभियान सुरु गर्ने उद्घोष गरेका छन् ।

कांग्रेस महामन्त्री सशांक कोइराला निवास टोखामा उनीसहित केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाबीच भएको भेटघाटमा यस्तो उद्घोष गरिएको हो ।

वीपी पुत्र संशाक, नोना पुत्र शेखर र गिरिजाप्रसाद पुत्री सुजाताबीच वैचारिक रुपमा एक रहेको सन्देश दिनसमेत यस्तो भेटघाट गरिएको केन्द्रीय सदस्य शेखर कोइरालाले बताए । ‘पार्टी एक बनाउने र कोइराला परिवार एक छन् भन्ने सन्देश दिन पनि यो पारिवारिक भेटघाट गरिएको हो,’ शेखरले भने, ‘गुटभित्र अर्को गुट जन्माउने योजना पटक्कै होइन ।’

पार्टी संगठन चलायमान हुन नसकेको भन्दै पार्टीमा जस्तै सरकारमा पनि प्रधानमन्त्री शेरवहादुर देउवाको शैली सुस्त रहेको निष्कर्ष उनीहरुले निकालेका थिए ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआउँदा पार्टी संगठनलाई कमजोर बनाउने भन्दै शेखर र सुजाताले पार्टी नेतृत्वमा रहेका देउवालाई झकझकाउन महामन्त्री सशांक कोइरालाको ध्यानाकर्षण गराएका थिए ।

शेखरले असोज २ मा हुने प्रदेश नम्वर २ को चुनावमा कोइराला परिवारका तीन सदस्यनै अगलरअलग ठाउँमा खटिएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने बताए ।