पु.समाचार

चितवनमा एकाएक यसरी मरे २५ गैंडा, विचार नपुर्याए ठूलै क्षती हुनसक्ने

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन् ।

अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका छन् । एउटा गैँडा भने रौतहटमा गोली लागी उपचारका लागि चितवन ल्याइएकोमा पछि मरेको हो ।

उनले अघिल्लो वर्ष विभिन्न कारणले १५ वटा गैँडा मरेकामा यो वर्ष बढेर २५ वटा पुगेको जानकारी दिए । “यो वर्ष भने १० वटा बढी गैँडा मरे”, अर्यालले भने, “दुईवटा करेन्ट लागेर, एउटा तस्करबाट र एउटा रौतहटमा गोली लागेर ल्याइएको गैँडा म¥यो । अरु बाँकी २१ वटा प्राकृतिक कारणले मरेका छन् ।”

एउटा गैँडा चौधरी ग्रुपले सञ्चालन गरेको मेघौली सेराइ होटलले छाडेको करेन्ट लागेर मरेको थियो । अर्को गैँडा पनि नवलपरासीको गैँडाकोटमा करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ ।

अर्को एउटा पश्चिम चितवनको जगतपुरमा शून्य चोरी शिकार वर्षको एक हजार ७१ दिनपछि गएको चैतमा तस्करबाट गैँडा मारिएको हो ।

अन्य २१ वटामध्य एउटा गैँडा बच्चा जन्माउन नसकेर तथा अन्य गैँडा बूढो भएर, जुधेर, अन्य गैँडाले हानेर तथा लडेर मरेका अर्यालले जानकारी दिए ।

मरेकामध्ये दुईवटा गैँडामात्रै जिल्ला वन कार्यालयको क्षेत्रमा तथा अरु सबै चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रका घटनामा भएको जनाइएको छ ।