राजनीति

प्रधानमन्त्री देउवाको हातमा पुग्यो कांग्रेसबाट मन्त्री हुने नेताहरुको अन्तिम नाम लिष्ट, यस्ता छन् प्रस्तावित नाम !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने निश्चित भएको छ । सत्तारुढ दलका नेताहरुसँगको पटक–पटकको छलफलपछि प्रधानमन्त्री देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

मन्त्रिपरिषद विस्तार हुने अन्तिम तयारीसँगै सत्तारुढ दलका नेता–कार्यकर्ताहरुको प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड निवासमा घुँइचो लाग्न सुरु गरेको छ ।

माओवादी केन्द्रले अधिकांश मन्त्रीहरुको नाम टुंगो लगाइसकेकोले उनकोमा त्यति धेरै घुइँचो नलागेपनि प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बालुवाटार र सो पार्टीका अन्य वरिष्ठ नेताहरुका घरमा कांग्रेसका नेता र सांसदहरुको घुइँचो लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाटीभित्र सन्तुलन मिलाउन सबै पक्षलाई समेटेर नेताहरुलाई सरकारमा सहभागी गराउने भएका छन् । प्रधानमन्त्री देउवालाई रामचन्द्र पौडेल पक्षले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको नाम बुझाइसकेको कांग्रेस निकट श्रोतले जनाएको छ । पौडेलको समुहबाट मन्त्री हुने सम्भावित सांसदहरु क्रमशः बलबहादुर केसी, राजन केसी, मिना पन्त रहेका छन् ।

त्यस्तै महामन्त्री सशांक कोइरालाबाट निवर्तमान मन्त्री दिपक खड्काको नाम तय भएको छ। खुमबहादुर खड्काको कोटाबाट मोहन बस्नेतको नाम तय भएको छ ।

कांग्रेसबाट राज्यमन्त्रीमा विरवहादुर बलायर, मदन अमात्य, सुजाता परियार, सिता गुरुङ्,, हरि नेपाल, शेषनाथ अधिकारी, रञ्जित कर्ण, भरतबहादुर खड्का, जीवन परियार, सरिता प्रसाई, दिलमान पाख्रिनको चर्चा छ ।

पार्टी सभापति देउवाले पनि आफ्नो तर्फबाट मन्त्रीको नाम तय गरिसकेका छन् । उनले तय गरेको नामहरुमा भीष्म आङ्दाम्बे, मिन बहादुर विश्वकर्मा र मान वहादुर बि.क मध्ये एकजना सरकारमा जाने छन् । । त्यस्तै कमल पंगेनी, अर्जुन जोशी, रामहरि खतिवडा, चन्द्र भण्डारीको पनि मन्त्रीको नाममा चर्चा छ ।

कांग्रेस र माओवादी केन्द्रबाट मन्त्री टुँगो लगाउनेबारे वार्ता टोली नै गठन भएको थियो । उक्त वार्ता टोलीमा कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक छन् भने माओवादी केन्द्रबाट अहिलेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन छन् ।  सत्तारुढ दलहरुको सहमतिअनुसार कांग्रेसले १२ वटा र माओवादी केन्द्रले ८ वटा मन्त्रालय पाउने श्रोतको दाबी छ ।

सो टोलीका एक सदस्यका अनुसार मंगलबार सरकारमा जानेहरुको नाममा अन्तिम टुंगो लागिसक्नेछ ।  यद्यपि, नेपाली कांग्रेसबाट भने माथि उल्लेखित नेताहरुनै सरकारमा जाने निश्चित भएको श्रोतले जनाएको छ ।