खेलकुद

प्रतियोगिताबाटै बाहिरियो नेपाल

काठमाडौं । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप फुटबलको छनोट चरणमा नेपालले लगातार दोस्रो खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

नेपाल पहिलो खेलमा युएईसँग ५–० गोल अन्तरले पराजित भएको थियो । संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा सोमबार भएको खेलमा नेपालले उज्वेकिस्तानसँग सामान्य प्रदर्शन मात्र गर्न सक्यो ।

युएईसँगको खेलमा देखिएका कमजोरी सुधार गरेको पाइए पनि गोल भने गर्न सकेन ।

उज्वेकिस्तानका तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत खेलको २१ औँ मिनेटमा पहिलो गोल गरेका थिए । उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए । त्यस्तै खेलको ८० औँ मिनेटमा उज्वेकिस्तानका गानिएभ अजिजोनले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

नेपालले केही राम्रो आक्रमण गरे पनि त्यसको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो । बुधबार समूह ‘डि’ कै अर्को खेलमा युएईले लेवनानलाई १–० गोल अन्तरले हराएको छ ।  आफ्नो अन्तिम खेलमा नेपालले बुधबार लेवनानसँग खेल्नेछ ।