आर्थिक

कास्की प्रहरीले अघिल्लो बर्ष कारबाही बापत उठायो झण्डै चार करोड

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/२०७४ सम्मको एक वर्षको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी साधन चलाउने साधनलाई कारबाही गरी रु तीन करोड ४९ लाख ४९ हजार ५०० राजश्व संकलन गरेको छ ।

सो अवधिमा ५० हजार ५९९ सवारी साधन कारबाहीमा परेका थिए । सो अवधिमा भएका ९९ वटा सवारी दुर्घटनामा ५८ जना मानिसको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चालकको लापरबाही, तीव्रगतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन र चौपायको कारणले बढी दुर्घटना भएका थिए । दुर्घटना गराउनेमा ट्रक ट्यांकर २०, बस १२, कार/ जिप २१, ट्र्याक्टर ६, मोटरसाइकल ७१ र अन्य ४ छन् ।

सवारी साधनको स्वरुपपरिवर्तन गर्ने ४१९, प्रेसर हर्न गरी सवारी चलाउने २१० र मादक पदार्थ सेवन गरी सवारी चलाउने १,६०६ सवारी साधन पनि कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।