आर्थिक

द्वन्द्वपीडितलाई छ करोड वितरण

इलाम । यहाँका द्वन्द्वपीडितलाई यसपटक रू छ करोड राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत सशस्त्रद्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका आफन्त र विस्थापित भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताबापत रू पाँच करोड ९० लाख ८९ हजार ९०० वितरण गरिएको हो ।

यसअघि पनि विभिन्न चरणमा पाँच लाख राहत पाएका द्वन्द्वपीडितका आफन्तलाई यसपाली एकमुष्ट रू पाँच लाख थप गरेर रु १० लाख राहत रकम पुर्याइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

एक सय १२ जना मृतकमध्ये एक सय आठ जनाको परिवारलाई रु पाँच लाख र बाँकी चार जनाको परिवारलाई रु एक लाख ५० हजारको दरले राहत वितरण गरिएको छ । सरकारले घोषणा गरेको करिब एक दशकपछि द्वन्द्वपीडितले राहत रकम पाएका हुन् ।

स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा द्वन्द्वका क्रममा विस्थापित १९३ जनाले रु १० हजारदेखि २५ हजारसम्म गरी रु २४ लाख ८९ हजार ९०० राहत पाएका छन् । बेपत्ताको सूचीमा रहेका चार जनाका आफन्तले रु पाँच लाखको दरले रु २० लाख राहत पाएका छन् ।

द्वन्द्वका समयमा बेपत्ता पारिएका तत्कालीन पुवामझुवा–८ का अगमसिंह राई, फाकफोक–१ का गोकुल निरौला, मङ्गलबारे–३ का कटकबहादुर साङपाङ र आमचोक–३ का शुक्रराज राईका परिवारले पाँच लाखका दरले राहत बुझेको समेत प्रजिअ दाहालले जानकारी दिइन् ।