राजनीति

प्रदेश र केन्द्रको निर्बाचन मिति चाँडै घोषणा हुने : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्बाचन आयोगका प्रमूख आयुक्त सहितका प्रतिनिधिमण्डलसंगको भेटमा प्रदेश र केन्द्रको निर्बाचन मिति चाँडै घोषणा हुने बताएका छन् ।  प्रधानमन्त्री शेर बहादुर देउवासँग आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव तथा माननीय आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रयाद पौड्याल र सुधीर कुमार शाह तथा आयोगका का.मु. सचिव  महेश्वर न्यौपानेले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भेट गरेका छन् । भेटका अवसरमा गृहमन्त्री जनार्दन शर्मा, मुख्य सचिव  राजेन्द्र किशोर क्षेत्री, गृह सचिव लोकदर्शन रेग्मी तथा प्रधानमन्त्री कार्यालयका सचिवहरूको उपस्थिति रहेको निर्बाचन आयोगले जनाएको छ ।

भेटका अवसरमा आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र सो आयोगलाई आवश्यक समयावधि बारे छलफल भएको थियो ।

सो अवसरमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवबाट संविधानले व्यवस्था गरेअनुसार २०७४ साल माघ ७ गतेभित्रै प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु अत्यावश्यक रहेको र सोको लागि आवश्यक पर्ने निर्वाचन सम्बन्धी कानून र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्व गठन भई सोको प्रतिवेदन छिटो आयोगमा प्राप्त हुनुपर्ने र निर्वाचन आयोगले तयार गरेको निर्वाचन कार्यतालिका अनुसार कार्य गर्नुपर्ने आवश्यकता रहेको कुरा बताएका थिए ।

उक्त भेटमा  प्रधानमन्त्री देउवाबाट छिटृै निर्वाचन सम्बन्धी ऐनहरू पारित गरिने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।