आर्थिक

मेनपावर व्यवसाय ठग्ने उद्येश्यमा संचालित !

बनियानी (झापा) । मेनपावर व्यवसायलाई व्यवस्थित गर्न राज्य र व्यवसायी दुवै लाग्नुपर्ने विभिन्न क्षेत्रका व्यक्तित्वले सुझाव दिएका छन् ।

बिर्तामोडमा आज आयोजित ‘मेनपावर व्यवसाय र चुनौती’ विषयक अन्तरक्रियाका सहभागीले राज्यले ऐन कानुन बनाउनुपर्ने तथा व्यवसायीले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले १० वर्ष अघिको भन्दा अहिले मेनपावार व्यवसाय धेरै मर्यादित भइसकेको बताए । “पहिला ठग्ने उद्देश्यले मेनपावर सञ्चालन गरेको पाइन्थ्यो, अहिले व्यवसायीको सकारात्मक प्रयासले व्यवस्थित बन्दै गएको छ,” उनले भने।

शाखाका उपाध्यक्ष एकराज गिरीले दुई सयभन्दा बढी मेनपावर कार्यालय रहेको जिल्लामा कतिपय मापदण्डविपरीत सञ्चालन भइरहेकाले त्यसको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिए । विदेशमा नेपाली नागरिक बिचल्लीमा परेपनि राज्य र मेनपावर व्यवसायी जवाफदेही नहुँदा समस्या हुने गरेको बताए ।

बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङले मेनपावर व्यवसाय व्यवस्थित बन्न नसक्दा नकारात्मक सन्देश गएको बताए ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जनताको जीवनस्तर उकास्न वैदेशिक रोजगारको महत्पूर्ण योगदान भएको बताए । वैदेशिक रोजगार व्यवसायी सङ्घका संयोजक धनबहादुर पन्धाकले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले धानेको भए पनि राज्यले यसलाई गम्भीरताका साथ नहेरेको आरोप लगाए । कार्यक्रमको आयोजना आवर डेस्टिनी मेनपावर शाखा बिर्तामोडले गरेको हो । कार्यक्रममा सो शाखाका तर्फबाट पत्रकार सहारा उपचार कोषलाई रू ११ हजार १११ सहयोग प्रदान गरिएको थियो । रासस