आर्थिक

गौतमबुद्ध विमानस्थलको निर्माणको काम सुस्त

काठमाण्डौ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य चार महिनामा ६ प्रतिशत मात्र सम्पन्न भएको छ । सम्बन्धित निकायले द्रुत गतिमा निर्माण कार्य अघि बढाउन दिदै आएको निर्देशनलाई चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुप’ ले गम्भीर रुपमा नलिदा निर्माणले गति लिन नसकेको हो ।

शुक्रबारको कान्तिपुरमा लेखिएको छ, पहिलाको स्थानीय सहठेकेदार कम्पनीसँग लेनदेनको विवाद भएदेखि नै आयोजनाको काम सुस्त बनेको हो । आयोजना प्रमुख ओम शर्माले निर्माण कार्यमा ढिलाई भएपछि आयोजनाका तर्फबाट हप्तैपिच्छे बैठक डाकेर कामलाई तीव्रता दिन ताकेता गर्दै आएपनि आशा गरेअनुरूप काम अगाडि बढ्न नसकेको बताए ।

शर्माका अनुसार चैतको सुरुमै २४ प्रतिशत पूरा भएको आयोजनाको काम असारसम्ममा ५० प्रतिशतको हाराहारीमा निर्माण कार्य सम्पन्न हुने अपेक्षा थियो ।

दैनिक २ सयभन्दा बढी संख्यामा कामदार पुर्यायउन भनिए पनि आधा संख्यामा मात्रै उपलब्ध हुने गरेका छन् । आयोजना स्थलमा खटिएका प्रतिनिधि तथा प्रमुखले निर्माण कार्यलाई राम्ररी व्यवथापन गर्न नसकेकाले निर्धारित समयमा आयोजना पूरा हुन नसक्ने बताएका छन् ।

भ्याटसहित ६ अर्ब २२ करोड रुपैयाँमा ठेक्का लिएको सो चिनियाँ निर्माण कम्पनीले आयोजनाको प्रथम चरणको काम सन् २०१७ मा सम्पन्न गर्नुपर्ने थियो । भूकम्प, नाकाबन्दीलगायत कारणले निर्माण अवधि लम्बिएर सन् २०१८ को जुन १५ पुगेको छ । द्रुत गतिमा काम अघि बढ्न नसके पछिल्लो मितिमा पनि पूरा हुन नसक्ने स्पष्ट छ ।