राजनीति

को होलान् मुख्यसचिव ? देखियो यस्तो संकेत !

काठमाण्डौ । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको कार्यकारी निर्देशक भएर आगामी साउन १ गतेदेखि बाहिरिने तयारीसँग अब नेपाल सरकारको मुख्य सचिव को हुने भन्ने बहस सुरु भएको छ ।  सुवेदी साउन १ गतेबाट सरकारी सेवाबाट विदा हुने तयारीमा छन् । सम्भवत,उनले मंगलबार राजीनामा दिँदैछन् । उनको राजीनामा मन्त्रिपरिषद बैठकले तत्काल स्वीकृत गरेमा अहिले भएका बरिष्ठत सचिवहरु मध्येबाट मुख्यसचिव छान्नुपर्ने हुन्छ ।

अहिले भएका सचिवहरु मध्येमा सबैभन्दा बरिष्ठ सचिव धनबहादुर तामाङ हुन् । उनी राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृतका रुपमा कार्यरत रहेका छन् । मन्त्रिपरिषद बैठकले तत्काल र निष्पक्ष निर्णय गरेमा तामाङ मुख्य सचिव बन्नेछन् ।

यद्यपि,तामाङभन्दा पछाडि थुप्रै अन्य सचिवहरु समेत मुख्य सचिवको दाबेदार हुने लाइनमा छन् । अर्थसचिव शान्तराज सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ लगातार लाइनमा रहेका छन् । मंगलबार मुख्यसचिव सुवेदीले राजीनामा बुझाए, मन्त्रिपरिषदले मंगलबारनै तत्काल निर्णय गर्नुपर्छ । अन्यथा, मुख्यसचिव हुने लाइनमा रहेका तामाङ स्वत प्रतिस्पर्धाबाट बाहिरिने छन्,किनभने बुधबारदेखि तामाङले सेवा अवधिका कारण सचिवबाट स्वतः अवकास पाउनेछन ।

यदि मंगलबारनै निर्णय भएमा तामाङले सात–आठ महिना मुख्य सचिव भएर मुलुकको प्रशाशनिक संयन्त्र चलाउन पाउनेछन् । यदि मंगलबार मन्त्रिपरिषदले उक्त निर्णय नगरेमा तामाङको उक्त अवसर छुट्नेछ र त्यसपछि उनी बाहेकका प्रतिस्पर्धीहरु मुख्य सचिवका दाबेदार बन्ने पक्का छ । फेरि मंगलबारनै तामाङ मुख्य सचिव भएमा त्यस पछिको मुख्य सचिवका लागि गृहसचिव लोकदर्शन रेग्मी मुख्य प्रतिस्पर्धी हुनेछन्।

तामाङ मुख्यसचिव नभए त्यसपछि मुख्य सचिवका प्रमुख दावेदारका रुपमा अर्थ सचिव शान्तराज सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ आउने छन्।

त्यसपछिका आकांक्षीहरुमा पनि अर्थ सचिव सुवेदी माओवादी निकट मानिन्छन् भने शिक्षा सचिव श्रेष्ठ एमाले निकट हुन्।

मुख्य सचिव सुवेदीले गत फागुनमा नै एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा नाम निकालेपछि फागुन २० मा नै नेपाल सरकारले सिफारिससमेत गरिसकेको छ। सुवेदीले अब फिलिपिन्सको मनिलामा बसेर एडीबीका लागि काम गर्ने छन्।