आर्थिक

उत्पादनशील क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनशील क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी बढाउनुपर्ने बताएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोवार सञ्चालनको आज यहाँ शुभारम्भ गर्दै उनले भने – “चाँडोभन्दा चाँडो स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार गर्नुपर्दछ ।”

अर्थमन्त्री कार्कीले मुलुकमा आर्थिक गतिविधि बढाउने गरी कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान पनि गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बजेटका उद्देश्य प्राप्तीका निम्ति आज सार्वजनिक भएको मौद्रिक नीतिको लक्ष्य देशको आर्थिक वृद्धि बढाउने र उपभोक्ता मूल्यवृद्धि नियन्त्रण गर्नु हो भन्दै दिगो आर्थिक विकासमा टेवा पुग्ने गरी प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरे ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रिलायबल डेभलपमेन्ट बैंकलाई आफ्नो संस्थामा गाभेपछि १० बैंक तथा वित्तीय संस्था एकिकृत भएको जानकारी दिँदै अब बैंकको चुक्ता पुँजी रु आठ अर्ब आठ करोड, निक्षेप रु ९७ अर्ब ७० करोड र कर्जा रु ८२ अर्ब पुगेको बताए ।

यसैबीच भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी एक आपसमा गाभिई लुम्बिनी विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार आजैदेखि सुरु गरेको छ । एकीकृत कारोवारको गभर्नर नेपालले आज यहाँ आयोजित एक समारोहबीच शुभारम्भ गरे ।