समाचार

कुलमान घिसिङले गरे अहिलेसम्म कसैले नसोचेको अर्को नयाँ योजनाको खुलासा

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा पानी जहाज सञ्चालन हुनसक्ने सम्भावनाबारे एउटा नयाँ तथ्य खोलिदिएका छन् । निर्देशक घिसिङले नेपालमा पानी जाहाज चलाउन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भैसकेको भन्दै उनले सो नयाँ तथ्य खोलिदिएका हुन् । शनिबार रामेछाप–काठमाण्डौ पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको गुरुयोजनामा भारतको कलकत्ताबाट कोसी नदी हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने कुरा उल्लेख भएको उनले खुलासा गरे । उनले यो योजना सम्पन्न गर्न सकिने समेत बताए ।

प्रबन्ध निर्देशक घिसिङले कोसी नदीबाट मात्रै २५ हजार मेघावाट बिजुली निकाल्न सकिने बताउँदै उक्त विद्युत क्षमताको समेत उपयोग नेपालले गर्न नसकेको उनले बताए । घिसिङले सप्तकोसी,सुनकोसी,चतरा हुँदै दोलालघाटसम्मको जलविद्युत आयोजनाको विस्तृत अध्ययन हुनुपर्ने बताउँदै सुनकोसी १,२ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनले स्पष्ट पारे ।