राजनीति

कांग्रेस किन दोश्रो स्थानमा झर्यो ? गगन थापाले खोले यस्ता चार रहस्य !

काठमाण्डौ । मुलुककै ठुलो दलको रुपमा रहेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा भने धक्का बेहोरेको छ । वैशाख ३१ र असार १४ गते भएका दुई चरणको चुनावमा कांग्रेसले अपेक्षाकृत मत परिणाम हासिल गर्न सकेन । पहिलो चरणको चुनावमा ब्रेक लागेपनि दोश्रो चरणको चुनावमा तराई–मधेस र सात नम्बर प्रदेशबाट कांग्रेसलाई राम्रो मत झर्ने आंकलन गरिएको थियो, अपेक्षाकृत रुपमा ती क्षेत्रमा समेत सो पार्टीलाई मत झरेन । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै क्षेत्रको रुपमा चिनिने सात नम्बर प्रदेशमा पनि कांग्रेसले राम्रो जनमत पाएन ।

कांग्रेसले किन एक्कासि यसरी धक्का बेहोर्नुपर्यो त ? यो विषयमा नेपाली कांग्रेसभित्रै विभिन्न कोणबाट बहसहरु सुरु भएका छन् । एकथरीले पार्टीको नीति र योजना फेल भएको भन्ने बहसलाई चर्काएका छन् भने अर्कोथरीले पार्टीको चुनावी तयारी र व्यवस्थापन नै नपुगेको बताइरहेका छन् ।

वास्तवमा नेपाली कांग्रेसलाई यो पटकको चुनावमा धक्का लाग्नुका विभिन्न कारणहरु रहेका छन् । यो सवालमा सो पार्टीका जल्दाबल्दा युवा नेता गगन थापाले स्थानीय तहको चुनावमा कांग्रेसले हार बेहोर्नुपरेका चार कारण खुलाएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुका ४ कारणलाई यसरी प्रष्ट्याएका छन्:

एक नम्बरः
लोकमानसिंह कार्कीको महाअभियोबारे पार्टी मौन बस्नु, प्रहरी प्रमुखको नियुक्ति र त्यसपछि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुमा कांग्रेसको भूमिका। ‘राष्ट्रिय राजनीतिमा भएका यी घटनाले पहिलो चरणमा हामी एकदमै रक्षात्मक थियौं, हामीसँग जनताले सोध्ने धेरै प्रश्नका उत्तर नै थिएनन्’

दुई नम्बरः
कांग्रेसको सांगठनिक गतिविधि 

‘संविधान सभा चुनावपछि बरु अलिकति कार्यक्रम भएका रहेछन्, तर पछिल्ला दुई वर्ष कांग्रेसले कार्यक्रम, भेला, प्रशिक्षण, सभा केही पनि गरेको रहेनछ’, नेता थापाले भनेका छन्, ‘चुनावमा नेताले टिकट दिए, अरू तयारी नगरी हामी भाषण गर्न गयौं र यो नतिजा आयो।’

तीन नम्बरः
टिकट वितरणमा भएको कमजोरी 

थापाले हचुवाका भरमा टिकट बाँडिएकाले पनि धेरै ठाउँमा पार्टीका उम्मेदवार हार ब्यहोर्नु परेको बताए। ‘संसदीय चुनावमा धेरे आकांक्षी हुन्नन, भएका केहीको चित्त बुझाउ सजिलो हुन्छ,’ थापाले भनेका छन्, ‘स्थानीय चुनावमा त वडा सदस्यदेखि मेयरसम्म धेरैले दाबी गर्छन्। यसमा फेरि जातियता, भौगोलिकता लगायतका कुराको पनि तालमेल मिल्नुपर्छ। तर कांग्रेसले त्यसरी टिकट बाँडेन।’

चार नम्बरः
पार्टी भित्रकै अन्तरघात
टिकटमा चित्त नबुझेकाहरू कांग्रेसलाई होइन, अर्कैलाई जिताउन लागि परे । ‘अझ राष्ट्रिय राजनीतिमा स्थापित नेताहरुले सांगठनिक रूपमा नै अन्तरघात गरे’, थापाले भनेका छन्, ‘यति धेरै नेपाली कांग्रेसका कार्यकर्ताले अरुलाई भोट हालेको यो पहिलो पटक हो।’

पार्टीले आन्तरिक व्यवस्थापन गरेर चुनावमा गएको भए कम्तिमा २० ठाउँ बढी जित्ने थापाको दाबी छ। ‘एकातिर पार्टीभित्र किचलो अर्कातिर मेयर उम्मेदवारले के भाषण गर्ने भन्ने पनि थाहा छैन,’ थापाले भनेका छन्, ‘न पार्टीको नीति छ न त कार्यक्रम र योजना। कति ठाउँमा वृद्ध भत्ताका विषयमा हामीले जवाफ दिन सकेनौं।’

थापाले यी चार कारणलाई तत्काल हल गर्न पार्टीको महासमिति बैठक बोलाउनुपर्ने समेत बताउँदै आएका छन् । तत्काल महासमिति बैठक बोलाएर यी समस्याको निराकरण गर्न सकिए दुई नम्बर प्रदेशको चुनावमा अग्रता लिँदै प्रदेश र संघीय संसदको चुनावसम्म पुग्दा कांग्रेस मुलुककै ठूलो पार्टी हुने समेत उनको दाबी छ ।