विशेष

नेपाली कांग्रेसभित्रको भोलिको वास्तविक उत्तराधिकारी को हो ? देखियो यस्तो नयाँ संकेत !

बीस वर्ष लामो अन्तरालपछि मुलुकभर प्रदेश नं २ बाहेकका अन्य सबै प्रदेशहरूमा भरखरै दुई चरण गरी स्थानीय तहको निर्वाचन संपन्न भएको छ । निर्वाचन परिणामको विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरू मध्येको सबैभन्दा ठूलो र सत्तारूढ दल नेपाली काँग्रेसले निर्वाचनमा भोग्नुपरेको निराशाजनक परिणाम र त्यसमा अन्तर्निहित कारणका बारेमा स्वाभाविक रुपले विभिन्न टिप्पणीहरू भइरहेका छन् ।

निर्वाचनको मुखमा राजदूत नियुक्ति, आइ जी पी नियुक्ति, प्रधान न्यायाधीश माथिको महाभियोग जस्ता विवादास्पद र अदूरदर्शी प्रकरणहरूमा नेतृत्व नफसेको भए नेपाली काँग्रेसले निर्वाचनमा प्राप्त गर्न सक्ने संभावित परिणामको बारेमा चर्चा हुँदै गर्दा एउटा अहं सवालतर्फ कमैको ध्यान पुगेको देखिन्छ । नेपाली काँग्रेसलाई यसको समग्रतामा मात्र बुझ्न खोजियो भने समस्याको चुरो पहिल्याउन सकिंदैन ।

नेपाली काँग्रेसको इतिहासमा यसभित्र सदैव भिन्न भिन्न धारहरू अस्तित्वमा रहँदै आएका छन् । व्यक्ति विशेषले नेतृत्व गरेको आधारमा नेपाली काँग्रेसभित्रका समूहहरूलाई समूह विशेषको नाममा मात्र विभाजित गरेर हेर्नु गंभीर भूल हुन्छ । सधैं अस्तित्वमा रहेका यी समूहहरूबीच प्रवृतिगत भिन्नताहरू छन् । एउटा समूहले काँग्रेसभित्र वी पी कोइरालाको आदर्शको प्रतिनिधित्व गर्दछ जो त्याग र सच्चरित्रतामा विश्वास गर्दछ र संगठनमा मौरी ज्यामीले झैँ काम गर्दछ । अर्को समूह शक्ति र सत्ता केन्द्रित राजनीति गर्दछ जो मह खान मात्र व्यस्त छ र जनताको विवेकलाई पद र पैसाले प्रभावित गर्ने दिवास्वप्न देख्छ ।

यही दोश्रो प्रवृतिको समूहको पार्टीमा हाल हालीमुहाली हुनु नै नेपाली काँग्रेसले निर्वाचनमा अपेक्षाकृत निकै कमजोर परिणाम भोग्नुपर्नुको मुख्य कारण हो । हालसालै सामाजिक संजालहरूमा भाइरल भइरहेको प्रधानमन्त्री शेर बहादुर देउवाको बिबिसीसँगको साझा सवालको प्रतिक्रियाले हामी कस्तो विडम्बनापूर्ण स्थितिको शिकार भइरहेका छौँ भन्ने पुन: स्मरण गराएको छ ।

पूर्व संस्थापन भनेर चिनिने पहिलो समूहमा रहेका अधिकांश नेताहरूको क्षेत्रमा नेपाली काँग्रेसले निर्वाचनमा निकै राम्रो परिणाम हात पारेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा त काँग्रेसले करिब सम्पूर्ण स्थानमा जीत हाँसिल गरेको छ । रामचन्द्र पौडेल, दिलेन्द्र बडु, महेश आचार्य, शेखर कोइराला, बद्री पाण्डे, लगायतका नेताहरूको क्षेत्रमा काँग्रेसले हाँसिल गरेको सफलताको श्रेय नेपाली काँग्रेसको भूमिकालाई जनता समक्ष स्पष्ट गर्न र आफ्नो क्षेत्रमा पार्टी संगठन सुदृढ गर्न यी नेताहरूले निर्वाह गरेको भूमिकालाई जान्छ ।

पार्टी सभापति शेर बहादुर देउवा, खुम बहादुर खड्का, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, बालकृष्ण खाँड, एन पी सावद, कृष्ण सिटौला, रमेश लेखक, डिना उपाध्याय लगायतका संस्थापन पक्षका नेताहरूको क्षेत्रमा भएको काँग्रेसको पराजय र मत परिणामले यी नेताहरू पार्टी संगठनको सवालमा पटक्कै गंभीर छैनन् र उनीहरूको छवि जनताको मत आकर्षित गर्ने नभई विकर्षित गर्ने खालको छ भन्ने यथार्थ छर्लंग भएको छ । आज पनि नेपाली काँग्रेसको साख पूर्व संस्थापन पक्षधरहरूकै कारण जोगिएको छ ।

अंकगणितीय हिसाबले तत्कालको लागि पार्टी सभापति शेरबहादुर देउवा समूह संस्थापन भनेर मानिए पनि नेपाली काँग्रेसको वास्तविक विरासत र उत्तराधिकार पूर्व संस्थापन मानिने वरिष्ठ नेता रामचन्द्र समूहसँगै छ भन्ने स्पष्ट हुँदै गएको छ । नेतृत्वको अपरिपक्वता र गैर ज़िम्मेवार क्रियाकलापले दिन प्रतिदिन झनझन धूमिल बन्दै गइरहेको पार्टीको छवि सुधार्न र आसन्न निर्वाचनहरूमा पार्टीको स्थिति मजबूत बनाउन पार्टीभित्र इमान्दार कार्यकर्ताहरूले जागृतिको अभियान शुरू गर्न अब विलम्ब गर्नुहुँदैन । (हाल: अमेरिका), यो लेखकको निजी विचार हो ।