राजनीति

यस्तो पो रहेछ डडेल्धुरामा कांग्रेसलाई झड्का लाग्नुको भित्री रहस्य, देउवाले यो कुरालाई गम्भीर रुपमा लिनुपर्छ !

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को प्रभाव रहेको भनिएको डडेल्धुरा जिल्लामा यो पटकको चुनावमा भने नेपाली कांग्रेसलाई ठूलै धक्का लागेको छ । प्रदेश नम्बर ७ अन्तर्गत रहेको डडेल्धुरा जिल्लामा रहेका ७ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ४ तहमा मात्र विजय हासिल गर्न सक्यो । अन्य तहमा भने उसले पराजय बेहोरेको छ । वास्तवमा २०४९ र २०५४ सालमा भएका दुई स्थानीय निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेसल बहुमतका साथ विजय हासिल गरेको थियो । तर यो पटक भने कांग्रेसको आन्तारिक खिचातानी र एमाले लगायतका दलहरुको चर्को प्रभावले सिंगै डडेल्धुरा कब्जा गर्ने प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसको योजना फेल भएको छ ।

वास्तवमा नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई डडेल्धुराले स्थायित्व दिँदै आएको थियो । जुनसुकै निर्वाचनमा पनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले डडेल्धुराबाट विजय हासिल गर्दै आएका थिए । तर यो पटक भने सिंगै डडेल्धुरा कब्जा गर्ने कांग्रेसको सपनामा किन तुषारापात लाग्यो त ? यो विषयमा डडेल्धुराको कांग्रेसको आन्तारिक र बाहिरी राजनीतिक अन्तरविरोधलाई पनि बुझ्नु पर्ने हुन्छ ।

विशेषगरी यो पटकको निर्वाचनमा कांग्रेसको पराजय हुनुमा डडेल्धुरा कांग्रेसभित्रको चर्को असन्तुष्टि र देउवा गुटभित्रकै दुई धारको अस्वस्थ प्रतिस्पर्धाले काम गरेको बुझिन्छ । सो पार्टीको केन्द्रीय राजनीतिमा देखिएको दुई धार डडेल्धुरामा नदेखिए पनि एउटै गुटभित्रको दुई धारबीच अस्वस्थ प्रतिस्पर्धा भएको स्थानीय नेता कार्यकर्ताहरु बताउने गर्छन् । सो जिल्लामा देउवाको एकलौटी प्रभाव भएपनि रामचन्द्र पौडेलको गुट अस्तित्वमा छैन ।

विशेषगरी प्रधानमन्त्री पत्नी आरजु देउवा र नेता खुमबहादुर खड्काले नेतृत्व गरेको गुट डडेल्धुरा कांग्रेसमा मौलाएको देखिन्छ । सोही गुटबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेका बेला जिल्लाकै महत्वपूर्ण स्थानीय निकायका रुपमा रहेको अमरगढी नगरपालिकामा आरजु गुटका जिल्ला नेता दिल्लीराज जोशीले टिकट हात पार्न सफल भए ।

उनी डडेल्धुरा कांग्रेसका पूर्व जिल्ला सभापति रघुबर भट्ट निकट नेता मानिन्छन् । खुमबहादुर गुटको नेतृत्व वर्तमान कांग्रेस सभापति कर्णबहादुर मल्लले गरिरहेका छन् । देउवा निकट नेताले अमरगढीको टिकट हात पारेपछि डडेल्धुरा कांग्रेसभित्र चर्को असन्तुष्टि देखिएको थियो । अन्तत, सोही अन्तरविरोधकै बीचबाट अमरगढी नगरपालिकामा एमालेले विजयी हासिल गर्न सफल भयो । अमरगढी डडेल्धुरा जिल्लाको सदरमुकाम समेत हो ।

एमालेका विपिन ओझा १ सय २८ मत अन्तरले विजयी भए । सो नगरपालिकामा एमालेले बहुमत वडासहित प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । त्यस्तै, अन्य स्थानीय तहहरु पनि कांग्रेसको बर्चस्वबाट गुमेका छन् ।  त्यतिमात्र होइन टिकट वितरण प्रक्रियामा भएको ढिलाईका कारण पनि डडेल्धुरामा कांग्रेसले हारेको धेरैको आंकलन छ ।

दोश्रो चरणको निर्वाचनको मिति निकै आइसक्दा पनि जिल्ला पार्टीभित्र देखिएको चर्को अन्तरविरोधका कारण टिकट वितरण गर्न ढिलाई भएको थियो । त्यसबेला सम्म एमालेले डडेल्धुरामा आफ्नो चुनावी अभियानलाई घनिभूत बनाइसकेको थियो । अन्तिममा टिकट वितरण भएपनि पार्टीभित्र देखिएको असन्तुष्टि रोकिएन बरु बढेर गयो र चुनावको पूर्वसन्ध्यामा देउवा गुटको विरुद्ध खड्का गुटले कांग्रेसलाई मतनै नदिने योजना बनाएको बुझिन्छ ।

एउटा गुटले साथ नदिएपछि त्यसको नकारात्मक प्रभाव स्वत कांग्रेसमा पर्न गयो र जिल्लाका अमरगढी लगायतका केही महत्वपूर्ण स्थानीय निकायमा कांग्रेसले पराजय बेहोरेको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

यो प्रधानमन्त्री देउवाका लागि मात्र होइन, नेपाली कांग्रेसको राजनीतिक इतिहासमा समेत निकै ठूलो धक्का भएको बताइन्छ । अमरगढीमा आफ्नो पार्टीको विजय भएलगत्तै एमाले उपाध्यक्ष भीम रावलले कांग्रेसको किल्ला तोडिएको उद्घोष गरेका थिए ।