राजनीति

देवदह नगरपालिकामा नेपाली काँग्रेस विजयी

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् । सोमबार राति अबेर घोषणा भएको निर्वाचन परिणामअनुसार नगरको प्रमुखमा काँग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हीरा केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगरपालिकामा विजयी केसीले १० हजार १७६ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त गर्नुभयो । नगरका तीनवटा वडामा प्यानलसहित प्रमुख पद पनि काँग्रेसले जितेको हो ।

नगरपालिकाको उपप्रमुख पदमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भएका छन् । उनले १० हजार २११ प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी टीका न्यौपानेले सात हजार ६६ मत प्राप्त गरे । देवदहका नौवटा वडामा भने एमालेले जित हात पारिसकेको छ ।