समाचार

काभ्रेमा यसरी भयो भूकम्पपीडितलाई १४७ घर हस्तान्तरण

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा रहेको रयालेको फलामेमा ‘अर्थब्याग’ नामक संस्थाले बनाइदिएको १४७ घर भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।

तामाङ समुदायलाई लक्ष्य गरी संस्थाले बनाइदिएका घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा गोविन्दराज पोख्रेलले प्राधिकरणले यस वर्ष नेपालभर करिब डेढ लाख घर बनाइसक्ने उद्देश्य राखेको बताए । “सरकारको ढुकुटीमा पैसाको कमी छैन तर पनि जनता आफैँ घर बनाउन लाग्नुपर्छ,” उनले भने – “जनताले आफ्नै परिश्रम प्रयोग गरे रु तीन लाखले घर बन्छ ।”

उनले पुनःनिर्माण प्राधिकरणको संलग्नतामा भूकम्पपीडितलाई लक्ष्य गरी तालिम सञ्चालन गरिएको पनि बताए ।

कार्यक्रममा अर्थब्याग संस्थाकी नेपाली प्रतिनिधि मेलो डिजीले आफ्ना कर्मचारीको अथक प्रयासबाट पुनःनिर्माण सम्भव भएको जानकारी दिए ।
कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले भूकम्पपीडित नभएकाले पनि राहत रकम लिएकाले तिनलाई कारबाही गर्न र पनौती नगरभित्र रहेका वास्तविक भूकम्पपीडितले रकम नपाएकाले पुनः अनुगमन गर्नसमेत आग्रह गरे ।