अन्तर्राष्ट्रिय

विश्वलाई नै प्रभावित पार्ने गरी अर्को साइबर हमला !

एजेन्सी । विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो साइबर हमलाका कारण ब्यांक, साना व्यापारी, उर्जा फर्महरु र यातायात सञ्जाल प्रभावित भएको जनाइएको छ ।

उक्त भाइरस पहिलो पटक युक्रेनमा फेला परेको थियो र त्यहाँको सरकारी उर्जा कम्पनी साथै देशको मुख्य विमानस्थलमा समस्या देखिएका विवरण आएका छन् ।

भाइरस लागेको कम्प्युटर खोल्ने वित्तिकै प्रयोगकर्ताहरुलाई पहिचान नखुलेको खातामा विद्युतीय मुद्रा बिट कोइन्सका रुपमा ३०० डलर फिरौती नतिरेसम्म उनीहरुको कम्प्युटर नखुल्ने चेतावनीमूलक सन्देश दिइएको बताइएको छ।

डेनमार्कको सबैभन्दा ठूलो सिपिङ कम्पनी मर्स्क, रुसी तेल कम्पनी रोसनियेफ्ट र अमेरिकी फार्मास्युटिकल कम्पनी मर्कका कम्प्युटर प्रणालीहरु अवरुद्ध भएको जनाइएको छ ।

सो हमलाका बारेमा अन्तर्राष्ट्रिय प्रहरी संगठनले अन्य सदस्य देशहरुसँग मिलेर आफूले नजिकबाट अवस्थाको अनुगमन गरिरहेको जनाएको छ।