खेलकुद

चिली सेमिफाइनलमा प्रवेश

एजेन्सी । चिली फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बराबरी गरे पनि चिलीले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।

दक्षिण अमेरिकी क्षेत्रको विजेता चिली अस्ट्रेलियासँग १–१ को बराबरीमा रोकिएको हो । चिलीका लागि मार्टिन रोड्रिग्वेज र अस्ट्रेलियाका लागि जेम्स ट्रोइजीले गोल गरे । खेलमा अग्रता अस्ट्रेलियाले लिएको थियो ।

४२ औं मिनेटमा ट्रोइजीले गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० ले पछि परेको चिलीका लागि ६७ औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल गरे । बराबरीबाट जोडेको एक अंक नै चिलीका लागि सेमिफाइनल यात्रा तय गर्न पर्याप्त भयो ।

समूह विजेता बनेको जर्मनीको तीन खेलबाट सात तथा उपविजेता बनेको चिलीको पाँच अंक भयो ।

अस्ट्रेलिया र क्यामरुन भने समूह चरणबाटै बाहिरिएका छन् । पोर्चुगल र मेक्सिको यसअघि नै अन्तिम चारमा पुगेकाले सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि चिलीले अब पोर्चुगलसँग खेल्नेछ ।