राजनीति

कुलमानलाई उपयोग गरेर सुदुरपश्चिममा चुनाव जित्ने यस्तो छ प्रचण्डको भित्री रणनीति !

काठमाण्डौ । केही दिनअघि चुनावी सभालाई सम्बोधन गर्ने अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिममा थिए । उनी त्यहाँ सम्बोधन गरेलगत्तै काठमाण्डौ फर्के । उनलाई सुदरपश्चिममा आफ्ना कार्यकर्ताले राखेको कुराको झल्झली याद आइरहेको थियो ।

काठमाण्डौ आउनासाथ उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई आफ्नै निवासमा बोलाए । निवासमा आएलगत्तै कुलमानसँग प्रचण्डले एउटा जल्दोबल्दो विषय राखे ।

उनले तुरुन्तै सुदुरपश्चिम क्षेत्रमा लोडसेडिङ मुक्त गर्ने काम गर्न आग्रह गरे । पूर्वप्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका मुलुककै प्रभावशाली नेताले आफ्नै निवासमा बोलाएर एक्कासि त्यस्तो प्रस्ताव राखेपछि कुलमान अक्क न बक्क भए ।

प्राविधिक विषयमा लगत्तै २४ घण्टाभित्रै त्यस्तो काम गर्न सम्भव थिएन । त्यससमाथि सुदुरपश्चिम क्षेत्रमा त्यहाँको ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या समेत रहेकोले प्राधिकरणले त्यसलाई मिलाउने काम गरिरहेको थियो ।

प्रचण्डले दोश्रो चरणको निर्वाचनअघि नै त्यो काम गर्न आग्रह गरेपछि निर्देशक घिसिङले त्यसअघिनै त्यो काम गर्न सकिने–नसकिने कुराको निर्णय दिन सकेनन् । उनले सुदुरपश्चिम क्षेत्रलाई लोडसेडिङ मुक्त गर्ने अभियानमा प्राधिकरण प्रतिबद्ध भएर लागेको तर त्यो कामका लागि अझै २–४ दिन लाग्ने भनेर प्रचण्डलाई सकभर असार १४ अघिनै सुदुरपश्चिम क्षेत्रलाई लोडसेडिङमुक्त गर्ने आश्वासन दिए ।

यसरी सुदुरपश्चिम क्षेत्र पुगेरै आएको भोलिपल्ट उनले घिसिङलाई किन यस्तो ठाडो (अप्रत्यक्ष रुपमा निर्देशन) आग्रह गरे । यो सवालमा उनले सुदुरपश्चिमको चुनावी माहोललाई प्रभावित बनाउन खोजेको जानकारहरु बताउँछन् ।

प्रचण्डको राजनीतिक दाउपेच
यसअघि काठमाण्डौ उपत्यका लगायतका स्थानलाई लोडसेडिङमुक्त गरिसकेका कुलमान घिसिङले असार १४ गते अघिनै सुदुर पश्चिम क्षेत्रलाई पनि लोडसेडिङ मुक्त गरिदिए, त्यसलाई तत्काल चुनावी नारा बनाएर जाने र जनमत प्रभावित पार्ने रणनीति प्रचण्डले बनाएको देखिन्छ ।

सुदुर पश्चिमका स्थानीय नेता कार्यकर्ताहरुसँगको सल्लाह बमोजिम प्रचण्डले त्यो काम गर्न सकिए त्यसको जस कुलमानलाई मात्र होइन, माओवादी केन्द्र र आफुलाई समेत आउने देखेर केही दिनभित्रै लोडसेडिङ मुक्त गर्न निर्देशन दिएको श्रोतले बताएको छ ।

त्यो कामले तत्कालका लागि जनमत प्रभावित हुने र चुनावी परिणाम आफ्नो पक्षमा आउन सक्ने प्रचण्ड र सुदुरपश्चिमका माओवादी नेता–कार्यकर्ताको बुझाई रहेको बताइन्छ । यद्यपि, प्राधिकरणका निर्देशक घिसिङले २–४ दिनमा यो समस्या समाधान गर्ने आश्वासन दिएपनि चुनाव अघि सम्पन्न हुन्छ वा हुँदैन, त्यो भने निश्चित छैन ।