खेलकुद

पोर्चुगलको शानदार जित

एजेन्सी । पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो ।

पोर्चुगलले न्युजिल्याण्डलाई ४–० ले हरायो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे ।

न्युजिल्याण्डसँगको खेलमा रोनाल्डोलाई आराम दिइने चर्चा थियो तर उनी मैदानमा आएर टिमका लागि सुरुवाति गोल पनि गरे । ३३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोलबाट पोर्चुगलले सुरुवाति अग्रता लियो । त्यसको चार मिनेटपछि बर्नाडोले गोल गर्दै अग्रता दोब्बर पारे ।

८० औं मिनेटमा आन्ड्रे सिल्भा तथा इन्जुरी समयमा नानीले गोल गरेपछि पोर्चुगल ४–० ले विजयी भयो । जितपछि पोर्चुगलले समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो ।

उसले समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गर्दै सात अंक जोड्यो । प्रतियोगितामा तीनै खेल गुमाएको न्युजिल्याण्ड अंकको खाता नै नखोली घर फर्कियो ।