राजनीति

विराटनगर महानगरको चुनावमा यसरी हुँदैछ कडा प्रतिस्पर्धा, परिणाम कसको पक्षमा आउँला ? देखियो अनौठो संकेत !

मोरङ । दोश्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा मौसमले पनि तातिरहेको मोरङको वातावरणलाई चुनावी वातावरणले थप तताईदिएको छ । ठुला दलका शीर्ष नेतादेखि स्थानीय नेता–कार्यकर्ताहरु समेत विराटनगरमा केन्द्रीत भएका छन् । कांग्रेस,एमाले,माओवादी,संघीय फोरम र लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ता यसबेला घरदैलो कार्यक्रममा व्यस्त रहेका छ । दोश्रो चरणको चुनावमा एक मात्र महानगरपालिकाको रुपमा रहेको विराटनगरमा सिंगो मुलुकको ध्यान खिचिएको छ । पूर्वको मात्र होइन, नेपाली राजनीतिक इतिहासको समेत महत्वपूर्ण स्थान भएकोले त्यहाँको चुनावमा शीर्ष नेताहरुको समेत प्रतिष्ठा जोडिएको छ ।

यो समाचार तयार पार्दा समेत मुलुकका दुई पूर्व प्रधानमन्त्रीहरु केपी ओली र पुष्पकमल दाहाल शनिबार विराटनगर जादैछन् भने संघीय फोरम र लोकतान्त्रिक फोरमका अध्यक्षद्धय उपेन्द्र यादव र विजयकुमार गच्छदार पनि चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ जाँदैछन् । विराटनगरको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेस भने एक्लै भिडिरहेको छ ।

कांग्रेसले भीम पराजुलीलाई मेयर र इन्दिरा कार्कीलाई उपमेयरमा उठाएको छ । एमालेका विनोद ढकाल मेयरको उम्मेद्वार छन् भने लोकतान्त्रिक फोरमले सुची चौधरीलाई उपमेयरमा उठाएको छ । त्यस्तै,माओवादी–संघीय फोरम गठबन्धनले उमेश यादवलाई मेयर र नमिता न्यौपानेलाई उपमेयरमा उठाएको छ ।

कांग्रेसले आफ्नो पार्टीको ऐतिहासिक ठाउँ दाबी गरिरहेको विराटनगरमा त्रिपक्षीय भीडन्त रोचक देखिने भएको छ । कांग्रेसका केन्द्रीय नेताहरु एकहप्ता भन्दा अघि देखिनै चुनावी अभियानमा खटिरहेका छन् । कांग्रेसका प्रभावशाली नेताहरु डा।शेखर कोइराला,विमलेन्द्र निधि, महेश आचार्य, मिनेन्द्र रिजाल, डा।डिला संग्रौला लगायतका केन्द्रीय नेताहरु यसबेला चुनावी दौडाहामा रहेका छन् । विराटनगर महानगरपालिकाभित्र चुनावी क्षेत्र नम्बर ५,६ र ७ नम्बर पर्दछन् । जहाँ यसअघि कांग्रेसका शेखर कोइराला, मिनेन्द्र रिजाल र महेश आचार्यले चुनाव लडेका थिए ।

विराटनगरमा अहिलेसम्म प्राय सबै खालका चुनावमा कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता र कोइराला परिवारको समेत प्रभाव रहेको विराटनगरलाई राजनीतिक रुपमा ऐतिहासिक ठाउँको रुपमा लिने गरिन्छ । यद्यपि, त्यहाँ मधेसी दलहरुको समेत प्रभाव देखिन्छ । कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले सुरुमा मजदुर आन्दोलनको उठान गरेको ठाउँ भएकोले पनि विराटनगरको महत्व पृथक छ । कांग्रेसको गढ ठाउँ भएको विराटनगरमा यो पटकको त्रिपक्षीय भीडन्त भने निकै रोमाञ्चक र अनौठो देखिने स्थानीय नेता–कार्यकर्ताहरुनै बताउँछन् । यद्यपि, कांग्रेसले कुनै रणनीति तयार नगरी निर्वाचन सजिलै जित्न सक्ने एकथरी विश्लेषकहरुको भनाई छ ।

पहिलो चरणको स्थानीय चुनावमा जसरी काठमाण्डौ र भरतपुर महानगरपालिकामा समग्र मुलुकको ध्यान केन्द्रीत भएको थियो । त्यसैगरी यो पटकको चुनावमा विराटनगर महानगरपालिकाले सबैको ध्यान खिचेको देखिन्छ ।

यो पटकको चुनाव हुने महानगरमा विराटनगर मात्रै एउटा भएकोले पनि त्यहाँ सबैको नजर केन्द्रीत भएको हो । शीर्ष नेताहरुको समेत प्रतिष्ठाको विषय जोडिएको र चुनावी प्रतिष्पर्धामा घिनलाग्दो खेल समेत हुने भएकोले कतै भरतपुर महानगरपालिकाकै जस्तो राजनीतिक लफडा विराटनगरमा पनि हुने त होइन ? भन्ने आशंका पनि व्याप्त हुँदै गएको छ । यद्यपि,त्यस्तो खालका घटनाहरु हुन नदिन राजनीतिक नेतृत्व समेत सचेत रहेको विराटनगरका स्थानीय नेता कायकर्ताले बताएका छन् ।