कुराकानी

कांग्रेसको काठमाण्डौमा भएको गम्भीर क्षति विराटनगरले परिपूर्ति गर्छ (अन्तरवार्ता)

विराटनगरमा युवा नेता भीम पराजुली सबैको मुखमा झुण्डिने नाम हो । उनै पराजुलीलाई यसबेला विराटनगर महानगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा नेपाली कांग्रेसले मैदानमा उतारेको छ । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा दुई दशकदेखि सक्रिय पराजुली शान्त,सरल, शात्विक स्वाभावका नेता हुन् । उनले विराटनगरमा बालकदेखि बयोबृद्धसम्मको मन जितेका छन् ।  विराटनगर कांग्रेसको इतिहासमै पराजुलीजस्ता अग्रज र उदीयमान नेता प्रशस्त भए पनि महानगरको मेयर पदमा उनको नाम आउनु नगरवासीकै अपेक्षाअनुकूल भएको देखिन्छ । आफूले टिकट पाएको कुरालाई अवसरभन्दा पनि जिम्मेवारी हो भन्छन् पराजुली ।

उनी अग्रजहरूले स्नेहपूर्ण समर्थन गरिदिनुभएका कारण नै अवसर पाएको भन्छन् । दर्जनौं आकांक्षीहरूको सदासयता नभएको भए उम्मेदवार हुने सम्भव थिएन भन्ने उनी अग्रज नेता र नेतृहरूप्रति आभारी रहेको बताउँछन् । उनै लोकप्रिय युवा नेता पराजुलीसँग लिइएको अन्तरवार्तालाई हामीले यो पटक समावेश गरेका छौ । प्रस्तुत छ, मेयरका उम्मेद्वार पराजुलीसँग लिइएको अन्तरवार्ताः

पार्टीले मेयरको टिकट दिएको छ, कस्तो अनुभव गरिरहनुभएको छ ?
नेपाली कांग्रेस अरुभन्दा अलि फरक पार्टी हो । उसले इमान्दार र संघर्षशील कार्यकर्ताहरुको भावना बुझ्ने गर्छ । त्यसलै यो सवालमा पनि मैले पार्टीले मेरो इमान्दारी, समर्पण र निष्ठाको सम्मान गरेको हो भन्ने बुझेको छु ।

विराटनगर महानगरको मेयरको टिकट पाउन त निकै मुस्किल थियो भनिन्छ, कसरी सफलता प्राप्त गर्नुभयो ?
पार्टीभित्र यस्ता विषयहरुमा असन्तुष्टि हुनु स्वाभाविक हो । राजनीतिक जीवनभित्र र बाहिर संघर्ष भैहन्छन् । संघर्ष त जीवनको पर्याय हो तर तपाईंले सोच्नु भएजस्तो केही होइन । सक्षम व्यक्तित्वहरूको भीडभित्रबाट मैले टिकट पाएँ । यसमा संघर्षभन्दा पनि सबैको सद्भावले बढी भूमिका खेल्यो ।

दर्जनौं आकांक्षीका बीच फुत्त आउनुभयो भन्ने सुनिन्छ नि ?
मैले यो निर्णयलाई त्यसरी लिएको छैन । राजनीतिमा प्रायः निर्णयहरू फुत्त आउँछन् । तर मेरो त्यस्तो होइन । मेरो दिनरातको काम र विकासप्रतिको समर्पणले सबैको सम्मान गर्न सक्यो, त्यसको प्रतिफल पाएँ ।

विराटनगरमा तपाईं विजयी बन्ने आधारहरू के-के हुन ?
विराटनगरमा म विजयी हुनलाई थुप्रै आधारहरु रहेका छन् । सर्वप्रथम त म आफ्नो राजनीतिक इमान्दारितालाई विश्वास गर्छु । झूठा सपना बाँडेर जनतालाई निराश बनाउँदिन । सिंगै राज्य संयन्त्र लाग्दा त दमकमा एउटा आकाशेपुल बनाउन ३ वर्ष लाग्यो । सत्य बोल्छु । गर्न सक्ने मात्र बोल्छु अनि बोलेको कुरा दिनरात गरेर भए पनि पूरा गर्छु । सबैले भन्छन् ‘भीम पराजुली बचनको पक्का छ’ यही नै मेरो चुनाव जित्ने आधार हो । त्यसकारण मलाई जनताले मत दिन्छन्, मेरो विजयी अपरिहार्य छ ।

मेयर बनेपछि के–के गर्ने योजना छ ?
मेयर नबनिकन म धेरै कुरा भन्ने पक्षमा छैन । यी सबै कुरा हाम्रो घोषणापत्रमा समेटिएका छन् । सबै वर्ग, क्षेत्र, पेशा, व्यवसायमा सहजीकरण चाहिएको छ । सक्षेपमा भन्न पर्दा सामाजिक सुरक्षा, सुशासन, मैत्रीपूर्ण समाजिक सद्भाव रोजगारी र आपङ्गमैत्री सहर मेरो प्राथमिकतामा पर्छन् ।

विपन्न वर्गका नगरवासीहरूको हितमा सम्पन्न वर्गका नगरवासीहरूको पूँजीलाई परिचालन गराइ रोजगारमूलक व्यवसाय सञ्चालनमा ल्याउने र विदेशीको भाँडा माझ्ने बाध्यताबाट युवा पुस्तालाई मुक्त गर्नु मेरो प्राथमिक प्रयास हुनेछ । प्रत्येक कार्यालयमा जाँदा आफूलाई निरीह पाउने नागरिकहरूको आत्मसम्मान उठाउनेछु अनि सुशासनको प्रत्याभूति दिलाउनेछु । यो कामको सुरुवात महानगरबाटै हुनेछ त्यो पनि मैले जितेको १ महिनाभित्र नै । त्यो जनताले प्रत्यक्ष रुपमा देख्न पाउने छन् ।

विजय हुनेमा शतप्रतिशत ढुक्क हुनुहुन्छ ? यसका अन्य आधारहरु के–के हुन् ?
यो मैले भन्ने भन्दा पनि जनताले देखिरहेको कुरा हो । कुन नेता कस्तो छ, विराटनगरका जनतालाई थाहा छ । मेरो निष्पक्ष व्यवहार, पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्ने बानी शात्विक जीवनशैली र बोलेको कुरा पुर्याएर छोड्ने हठ नै विजयका आधारहरू हुन् ।

तपाईंलाई नै किन जनताले छान्ने ?
मलाई नै विराटनगरका जनताले छान्नुपर्ने धेरै आधारहरु छन् । अरूले विकासको कुरा गरेका छन् । त्यसप्रति मेरो पूर्ण समर्थन छ तर मैले अन्य उमेदवारको सिर्जनात्मक उर्जालाई पनि आत्मसात गरेको छु । म नागरिकलाई समय सीमाभित्रको योजना बाँड्नेछु । लक्ष्यसहितका कार्यक्रम पस्किने छु । पार्टीको होइन नगरवासीको मेयर बन्ने छु ।

भ्रष्ट्राचाररहित नगरको अनुभूति दिलाउने छु । सबै क्षेत्र, वर्ग, लिङ्ग, सम्प्रदाय र धर्मको संरक्षणमा प्रतिबद्ध छु । म कम बोल्छु बढी गर्छु । अरूका आ–आफ्नै विशेषता होलान् । म नगरवासीको नयाँ आशा र भरोशाको केन्द्रमा छु । मेरो लागि मेयर पदभन्दा पनि नगरवासीको हित सर्वेपरि हो यसर्थ जित मेरो हुन्छ अर्थात मेरो जीतमा प्रत्यके नगरवासीले आफूले जितेको अनुभूति गर्नु हुनेछ ।

तपाईले विजय हासिल गर्नासाथ जनताले अनुभूति गर्न सक्ने कुरा के हुनसक्छ ?
कुनै पनि उम्मेद्वारले जनताको मत प्राप्त गरेर विजयी भैसकेपछि उसले सुरुमा जनताले अनुभूति गर्ने खालको काम गर्नुपर्छ । हेर्नुस, विराटनगरमा विकासका लागि पैसाको अभाव कहिलै भएको छैन् । तर भ्रष्टाचार र अपारदर्शी क्रियाकलापले सधैं स्रोतको दुरूपयोग हुन पुगेको हो । मैले अघि नै भनी सकें सुशासन र भ्रष्टचाररहित महानगर मेरो सपना हो ।

जनताको स्वाभिमानलाई महानगरको गेटले पनि सम्मान गर्नुपर्छ । नगरवासी महानगरको मालिक हो । उसको हरेक सरकारी काममा सहज पहुँच हुनुपर्छ । भौतिक निर्माण मात्रै थोपरेर महानगर बन्दैन । असल शासनको अनुभूति हरेकले पाउनुपर्छ । यो सुकर्मको अनुभूति महानगरकै कार्यालयबाट मैले जितेको १ महिनाभित्र तपाईंले प्राप्त गर्नु हुनेछ ।

ढुक्क हुनुस् विराटनगर देशकै एकमात्र नमुना महानगर हुनेछ । हामी यसअघि काठमाण्डौ महानगरमा कांग्रेसले बेहोरेको पराजयलाई यहाँबाट परिपूर्ति गर्छौ । काठमाण्डौ महानगरपालिकामा झुकेको शीरलाई कांग्रेसले विराटनगरबाट माथि उठाउछ ।

विराटनगरलाई औधोगिक नगरीको रुपमा विकास गर्न अन्य के–के योजना रहेका छन् ?
विराटनगर एक ऐतिहासिक नगरी हो । यहाँको राजनीतिक र आर्थिक विकासको इतिहास हेर्दा निकै पुरानो देखिन्छ । कांग्रेसका संस्थापक नेता वीपी कोइरालाकै अगुवाईमा विराटनगरबाट सबैभन्दा पहिला औद्योगिक क्रान्ति सुरु भएको हो । पछिल्लो समय औद्योगिक नगरीको पहिचान मेटिँदै गएको छ विराटनगरको । यसको पहिचान फर्काउनेछु ।

विराटनगरमा थुप्रै सरकारी जग्गा छ । त्यो जग्गामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न पहल गर्नेछु । विराटनगर सुगर मिल र साल्ट ट्रेडिङको जग्गामा प्रक्रिया पूरा गरेर विशेष आर्थिक क्षेत्र स्थापनाका लागि काम गर्नेछु । देशकै पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्नेछु ।

यी सबै उद्योगले विराटनगरसँगको लामो इतिहास जोडेका छन् । यी उद्योगको पुनरसंरचना गर्दै नयाँ उद्योगहरुको निर्माण अभियान मेरो पहिलो प्राथमिकतामा पर्दछ ।

तपाईहरुको पार्टीको घोषणापत्रमा चाहि के–के कुरा समेट्नु भएको छ ?
कुनै पनि मुलुक र समाजको विकासका लागि पार्टीको घोषणापत्र महत्वपूर्ण हुन्छ । त्यसैले विराटनगरको विकासका लागि हामीले पनि घोषणापत्र तयार गरेका छौ । घोषणपत्रमा धेरै कुरा समेटिएको छ । ती मध्ये विराटनगरलाई प्रादेशिक राजधानी बनाउने, हरेक वडामा सुपथ मूल्यको पसल, हरेक वडामा पुस्तकालय, विराटनगरमा सञ्चालित सञ्चारमाध्यमलाई अनुदान, बाइपास रोड, सहरको सौन्दर्यलाई नै बिगार्ने थोत्रा र पुराना गाडीको व्यवस्थापन, नगरका विभिन्न स्थानमा सस्तो मूल्यमा भोजनालय,औद्योगिक प्रदर्शनीस्थल निर्माण,रंगशालाको स्तरोन्नति, विदेशी महानगरसँग भगिनी सम्बन्ध कायम, महानगरका प्रमुख स्थानमा आकाशेपुल, संग्राहालय, सरकारी जग्गाको खोजी गरी संरक्षण गर्ने, ग्राभेल भएका सबै सडकलाई पिच र नभएका कच्ची सडकलाई ग्राभेल, बुधहाट चोकस्थित ए प्लट र वी प्लटमा सुपरमार्केट निर्माण, ज्येष्ठ नागरिकका लागि आराम गर्ने श्रद्धाश्रमलगायत छन् ।

अन्तमाः विराटनगरवासी जनतालाई के भन्न चाहानुहुन्छ ?
विराटनगरवासी जनता जहिल्यै मेरो साथमा रहेका छन् । झण्डै २० वर्षपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि जनतामा निकै उत्साह छ । निर्वाचन कहिले आउँछ र भोट हालौं भनेर मतदाताहरू आतुर छन् । मैले विराटनगरवासीलाई हरेक दुःख र सुखमा साथै दिँदै आएको छु । दुई कार्यकाल नेपाली कांग्रेसको नगर सभापति भएर काम गर्दा म नगरवासीको हरेक घरमा पुगेको छु ।

म जनताको काम गर्दा कहिल्यै पनि दिक्क मान्दिन । कसैले समस्या परेर राति १२ बजे फोन गर्दा पनि उठाउँछु । यो त मैले भनिरहनु पर्दैन । अधिकांश नगरवासीलाई थाहा छ । यसले गर्दा मतदाताले म लगायत मेरो पार्टीले उठाएका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु । मतदाताहरूबाट पनि त्यही किसिमको आश्वासन पाइरहेको छु ।