विचार/ब्लग

यसरी जतिखेर पनि जान सक्ने रहेछ नेपालमा भूकम्प, यस्तो छ भित्री कारण !

काठमाण्डौ । नेपालमा विगतदेखिनै पटक पटक–साना ठूला भूकम्पहरु गैरहेका छन् । विज्ञहरुको भनाई अनुसार भूकम्प जाने मुलुकहरु मध्ये जोखिमको हिसाबले नेपाल ११ औं स्थानमा पर्न आउँछ । नेपालको भूभाग इन्डियन टेक्टोनिक प्लेट र यूरोशियन टेक्टोनिक प्लेट अन्तर्गतको तिब्बतीयन टेक्टोनिक प्लेटको सिमानामा पर्दछ । भूगर्भविद डा.सुवोध ढकालले दिनुभएको जानकारीअनुसार करोडौ वर्ष अगाडिदेखि नै इन्डियन टेक्टोनिक प्लेट र तिब्बतीयन टेक्टोनिक प्लेट एक आपसमा ठोक्किने र घुस्ने गरेका छन् । यसरी एउटा प्लट अर्कोमा ठोक्किने, घुस्ने र यससँग गाँसिएका अरु क्रियाकलापहरु निरन्तर रुपमा चलिरहँदा नेपालको भू–भागमा ठूला–ठूला दरारहरु बेलाबखत पैदा हुने गरेका छन् ।

अहिलेसम्मको अध्ययनले विभिन्न समयमा पैदा भएका दरारहरुमध्ये मुख्य तीनवटा र अरु सानातिना चिराहरु थुप्रै छन् र यस्ता चिराहरु बन्ने प्रक्रिया अझै पनि रोकिएको छैन । ती मुख्य तीनवटा चिराहरु नेपालको दक्षिणदेखि उत्तरसम्ममा मेटल फ्रन्टल थ्रस्ट (एमएफटी), मेन वाउन्डरी थ्रस्ट (एमवीटी) र मेन सेन्ट्रल थ्रस्ट (एमसीटी) को नामले चिनिन्छ । यी तीनैवटा दरारहरुले नेपालको लम्बाइको पूरा भू–भागलाई छिचोलिएर पूर्वदेखि पश्चिमसम्म नै फैलिएका छन् । एमएफटीले तराई र चुरेलाई, एमवीटीले चुरे र तल्लो हिमाललाई छुट्याएको छ ।

त्यस्तै एमसीटीले तल्लो हिमाल र माथिल्लो हिमाललाई छुट्याउँछ । यसरी नेपालको भू–भागभित्र ठूला दरार तथा स–साना चिराहरु रहेको र नयाँ चिरा बन्ने प्रक्रिया निरन्तर चलिरहेकोले गर्दा नेपालको भू–भागलाई कमजोर बनाईदिएको छ । यही क्रियाकलापले गर्दा नेपालमा साना तथा ठूला भूकम्पहरु जाने गरेको र भविष्यमा पनि जाने सम्भावना रहेको बताइएको छ ।

इन्डियन टेक्टोनिक प्लेट वर्षमा करिब ४ सेन्टिमिटर उत्तरतर्फ घुस्ने गरेको बुझिन्छ । यही कारणले गर्दा नेपालमा हिमालय पहाड बनेको मान्यता रहेको छ । यसरी इन्डियन टेक्टोनिक प्लेट तिब्बतीयन टेक्टोनिक प्लेटभित्र घुसिने बेलामा त्यस ठाउँमा घर्षणबाट सिर्जना हुने उर्जा सञ्चित हुँदै गइराखेको हुन्छ । जब सञ्चित भएको उर्जा थेग्न नसकिने अवस्थामा पुग्छ, अनि कुनै पनि बेला ऊर्जा उत्सर्जन हुन्छ र नेपालमा भूकम्प जान्छ । जति बढी ऊर्जा उत्सर्जन हुन्छ, त्यति नै पृथ्वीमा बढी कम्पन पैदा हुन्छ । जति बढी कम्पन पैदा हुन्छ, त्यतिनै बढी कमजोर संरचनाहरुको क्षति बढी हुन्छ । –रविनकाजी शर्माको पुस्तकबाट