पु.समाचार

एकहजार ५६७ को मनोनयन, २० जना बागी

खोटाङ। स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो ।

असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार दर्ता गर्नेमा अधिकांश पार्टीबाट असन्तुष्ट बनेका नेता तथा कार्यकर्ता रहेका छन् ।

पार्टीसँग असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै अधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । जिल्लाको दुई नगरपालिका, आठ गाउँपालिकाको ६९ वडामा चयन हुने ४१५ जना जनप्रतिनिधिका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएको हो ।

रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा झमप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् । आचार्यले नेकपा ९क्रान्तिकारी माओवादी०को भ्रातृ सङ्गठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जिल्लाको अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकामा प्रमुखमा भोजराज बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बस्नेतले पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकै तर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।