समाचार

अख्तियारभित्रै यसरी घट्यो एउटा अनौठो घटना, अब के जवाफ देलान् दिप वस्न्यातले ?

काठमाण्डौ । सरकारी संयन्त्रदेखि सबै क्षेत्रमा देखिने गरेका भ्रष्टाचारजन्य विकृति र विसंगतिमाथि गम्भीर अनुसन्धान गर्ने र दोषी ठहरिएकाहरुलाई कार्वाहीको दायरासम्म ल्याउने महत्वपूर्ण संस्था हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग । तर सोही संस्थाले गर्ने कामकार्वाही र तरिकाहरुमाथि नै उल्टै अनुसन्धान गर्नुपर्ने अवस्था आयो भने के होला ? उसका काम कार्वाहीले सर्वसाधारणलाई पीडा दिने काम भयो भने के होला ? उसले त्यसो गर्दा उसलाई कार्वाहीको दायरामा ल्याउने निकायचाहि कुन होला ?

यस्तै एउटा अनौठो घटना घटेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयभित्र । घटना के हो भने अख्तियार नेपालको महत्वपूर्ण संवैधानिक निकाय हो र यसको दायरा निकै फराकिलो छ । यो संस्थाका बारेमा बुझ्न चाह्यो भने हरेक सर्वसाधारणले गुगल सर्च गर्ने वित्तिक्कै सबै आधारभूत सुचनाहरु प्राप्त गर्न सकिन्छ । तर अख्तियारले गुगलमा राखेको उक्त फाइलमा अहिले तपाईले एउटा अनौठो नम्बर भेट्नुहुन्छ । त्यो नम्बर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारिक नम्बर होइन । अख्तियारले समस्यामा परेका कर्मचारीदेखि सर्वसाधारणसम्मलाई सम्पर्क गर्न राखेको त्यो नम्बर हो, ललितपुरका स्थानीय बासिन्दा पुन्डरी दुलालको ।

करिब डेढ वर्षअघि देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुलालको ९८४३१४७०५० लाई आफ्नो अफिसियल नम्बरको रुपमा दर्ज गरेको छ । दुलालले अख्तियारमा आएका सयौं फोनहरु उठाउँदै जवाफ फर्काउँदै गर्ने गरेका छन् । उनले अख्तियारले आफ्नो नम्बर उसको अफिसियल फोनको रुपमा गुगलमा राखिदिनाले निकै दुःख पाएको गुनासो गरे । ‘धेरै समय भैसक्यो अख्तियारमा फोन गरेर यस्तो समस्या आयो भनेर कुरा राख्दा पनि सुनुवाई गर्दैन’ दुलालले गुनासो गरे । कहिलेकाही त आफु निकै व्यस्त भएको बेलामा पनि अख्तियारको फोन उठाउँदा उठाउँदा हैरान पर्ने गरेको दुखेसो उनले पोखे ।

बागमती गाउँपालिका–७ ललितपुरका दुलाल हाल इमाडोलमा बस्छन् । सामाजिक विकास तथा प्रवद्र्धन केन्द्रमा पोषण अधिकृतका रुपमा कार्यरत उनले आफ्नो कामनै फिल्डमा खटिने भएकोले अख्तियारमा पर्ने समस्याहरुको फोन आफ्नो नम्बरमा आएर हैरान पारेको र निकै समस्यामा परिएकोले यो समस्याको समधानका लागि पहल गरिदिन सुर्यखबर डटकमसँग आग्रह गरे । उनले आफ्नो नम्बर कसरी र कसले अख्तियारको अफिसियल पेजमा राख्यो भन्ने कुरा थाहा नपाएको र यसरी फोन आउँदा आफै आश्चर्यमा परेको गुनासो गरे ।

सुशासन र भ्रष्टचारमुक्त समाजको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नका लागि निर्माण गरिएको अख्तियारले आफ्नो अफिसियल काम र कार्वाहीमा समेत यति धेरै गम्भीर भूल गरिरहेको छ भने यसको विश्वसनियतामाथि कसरी विश्वास गर्न सकिन्छ ? दुलालको भनाई अनुसार यो नम्बरको दुरुपयो लोकमानसिंह कार्की अख्तियार प्रमुख भएदेखिनै सुरु भएको हो तर अहिले अख्तियार प्रमुखमा दिप वस्न्यात आएका छन् । आफ्नै अफिसियल फाइलमा यस्तो गम्भीर त्रुटि देखिएपछि अब बस्न्यातले समेत के जवाफ देलान ? डेढ वर्षदेखि हैरानी खेप्दै आएका दुलालमाथि अख्तियारले कसरी न्याय देला ? त्यो त हेर्न बाँकीनैछ । यस्ता खालका लापर्वाहीले अख्तियार र त्यसको नेतृत्वमाथि प्रश्न खडा भएको छ ।