पु.समाचार

टिकापुर घटनाका योजनाकार चौधरीले उल्टै पाए सरकारबाट यति धेरै क्षतिपूर्ति

धनगढी । टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो। शनिबारको अन्नपूर्णमा लेखिएको छ, रेशम चौधरीका बुबा लालवीर चौधरीले शुक्रबार क्षतिपूर्तिबापतको १ करोड ७४ लाख रुपैयाँको चेक बुझेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

यस्तै, नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीले १ करोड ५० लाख र प्रदीप चौधरीले आफ्नो हार्डवेयर पसलमा भएको क्षतिपूर्तिबापत १ करोड ३९ लाख रकम पाएका छन्। यसअघि प्रचण्ड सरकारको बहिर्गमनको अन्तिम समयमा मन्त्रिपरिषद्ले टीकापुरका आगजनीपीडितलाई झन्डै ११ करोड क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

टीकापुर घटनाका ८८ जना पीडितले ८ हजारदेखि १ करोड ७४ लाखसम्मको क्षतिपूर्ति पाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो। राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली शुक्रबार टीकापुर पुगेको थियो। राहत तथा क्षतिपूर्ति रकम दिएर राज्यले आफूलाई न्याय गरेको आगजनीपीडित प्रदीप चौधरीले बताए ।