पु.समाचार

प्रधानमन्त्रीको जिल्लामै खैलाबैला

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनौट विवादले खेलाबैला मच्चिएको छ । विवाद कांग्रेस सभापति समेत रहेका देउवा समक्ष पुगे पनि समाधान हुन सकेको छैन् ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनौटमा देखिएको विवाद छताछुल्ल भएको छ । दुबै पक्ष देउवाको छत्रछायाँमा हुर्केका भए पनि पछिल्लो पटक उम्मेदवार छनौटमा पानी बाराबारको अवस्थामा पुगेका छन् । मल्ल पक्षले एकलौटी रुपमा जिल्लामा ‘टिकट’ वितरण गरेको आरोप लगाएको छ । भट्ट पक्षले भने विधिअनुसार उम्मेदवार छनौट गरेको दाबी गरेको छ । विवाद यतिसम्म चुलिएको छ कि वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार छनौटमा मल्ल पक्ष सहभागी भएको छैन ।

जिल्लामा मनोनयन गर्ने दुई दिन अघिसम्म भट्ट पक्षले वडा उम्मेदवार छनौट गरिरहेको बेला मल्ल पक्ष ‘बहिस्कार’ को अवस्थामा सदरमुकाममा भेटियो । डडेल्धुरा काग्रेस उपसभापति करुणाकर भट्टले सबैका नेता देउवा भएको उल्लेख गर्दै उम्मेदवार छनौट एकतर्फी भएको बताए । ‘वडा, गाउ, नगर समितिबाट सिफारिश भएका व्यक्तिलाई पुरै बेवास्ता गरियो’, उनले भने, ‘उम्मेदवारलाई टिकट वितरण एकतर्फी भयो, यसमा हाम्रो असहमति हो ।’

भट्ट पक्षका एक नेताले जिल्ला पार्टी सभापति मल्लले वडा समितिबाट एक पक्षीय ढंगले उम्मेदवार सिफारिश गरेका कारण बिवाद भएको दाबी गरे । ‘सभापति पक्षले वडा समितिदेखि एकलौटी सिफारिश गऱ्यो, जिल्ला समिति बहुमतले त्यसलाई अस्वीकार गरेको हो’, ती नेताले भने, ‘विधिअनुसार उम्मेदवारलाई टिकट वितरण भएको हो । निर्वाचनपछि पार्टी पद्धतिअनुसार कार्वाही हुन सक्छ ।’

डडेल्धुराका स्थानीय तहका लागि राजधानीबाट उम्मेदवार छनौट गरेपछि गत सोमबार र मंगलबार सदरमुकाममा मल्ल पक्षले हातमा कालोपटटी बाधेर बिरोध गरेको थियो । उक्त पक्षले बागबजारदेखि प्ले कार्ड बाकेर मौन जुलुश गरको थियो । उनीहरुले उम्मेदवार छनौट सच्याउनु पर्ने माग गरेको भए पनि प्रधानमन्त्री देउवाले बेवास्ता गरेको बताए । ‘शेरबहादुर दाइले चाहेमा अझै सच्याउन सक्नुहुन्छ’, करुणाकर भने, ‘शेरबहादुर र आरजू भाउजुलाई कुरा लगाउनेले विवाद समाधान गर्न दिएनन् ।’

डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवार छनौटमा एकतर्फी भएको दाबी मल्ल पक्षले गर्योग । ‘अजयमेरु गाउपालिकाको उपमेयरबाहेक कुनै पनि स्थानीय निकायमा एकलौटी भयो’, कांग्रेस महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले भने, ‘शेरबहादुर दाइलाई सबैको साझा नेता हुन नदिने पक्ष हावी भएकाले यो विवाद आयो ।’

जिल्लामा विवाद भएपछि दुबै पक्ष देउवा निवासमा डेरा जमाएर बसेका थिए । अन्ततस् भट्ट पक्षलाई देउवा पत्नी आरजूको समर्थन भएपछि विवाद झन् बढेको स्थानीय नेताको भनाइ छ । जिल्लाकी पुराना महिला नेतृ नारुदेवी ओझाले सभापति देउवाले पटकपटक अमगरगढी नगरपालिकाको उपमेयर बनाउने आश्वासन दिएको भए पनि अन्तमा नदिएको गुनासो गरिन् ।

‘मैले काठमाडौं बुढानिलकण्ठमा पटकपटक भेटा तिमीनै उपमेयरको उम्मेदवार हो भन्नुभयो, अन्तमा दिनुभएन’ उनले गुनासो गरिन्, ‘यतिबेला मलाई लोग्नेको मृत्यु हुदाभन्दा बढी पिडा भएको छ ।’ सदरमुकामको अमरगढी नगरपालिकाको उपमेयरको टिकट पाएकी पार्वतीदेवी झुकाल ओझाभन्दा कनिष्ठ नेतृ हुन् ।

अजयमेरु गाउपालिका उपप्रमुख उम्मेदवार कमला बिष्टले उम्मेदवार छनौट न्यायोचित नभएको बताइन् । उक्त गाउपालिकामा आफूले प्रमुख पदमा दाबी गरे पनि पूर्वाग्रही ढंगले उपप्रमुखमा सिमित गरेको आरोप लगाइन् । ‘आरजू भएको जिल्लामा महिलालाई टिकट दिन अन्याय भयो’, महिला संघ जिल्ला अध्यक्ष समेत रहेकी उनले भनिन्, ‘यसले महिलाको मनोबल घटाएको छ ।’ उनले ‘माथि भनिदिने मान्छे भए मात्र टिकट पाउने’ अनुभव गरेको बताइन् । डडेल्धुरामा भागेश्वर गाउपालिका प्रमुखको उम्मेदवारमा पूर्व पार्टी सभापति रघुवर भट्टकी छोरी कौशिला छनौट भएकी छन् । उनी एक मात्र गाउपालिका प्रमुखकी उम्मेदवार हुन् ।

कांग्रेस निटक बुद्धिजीवी प्रेमबहादुर बोहराले मल्ल र भट्ट पक्षले पद्धतिभन्दा पदलाई महत्व दिएका कारण बिवाद भएको बताए । ‘जिल्ला स्तरमा सहमति गर्न नसक्दा बढी समस्या आयो, बिवाद केन्द्रमा गयो, बिवाद झन् बढ्यो’, उनले भने, ‘दुबै पक्षले ‘लेनदेन’ गर्न जानेनन् । विवादले पार्टीलाई घाटा हुन सक्छ ।’

बिवादको भित्री कुरा
डडेल्धुरा कांग्रेसको बिगत हेर्ने हो भने कांग्रेस सभापति देउवा निकट हुने दौडका कारण चर्को विवाद हँुदै आएको छ । गत पार्टीको जिल्ला अधिवेशनमा देउवाको चाहना बिपरित कर्णबहादुर मल्लले जिल्ला सभापति जितेका थिए । त्यसपछि उनीप्रति देउवा र आरजू रुष्ट बनेका थिए ।

जिल्ला अधिवेशनको असर हाल स्थानीय निर्वाचनमा उम्मेद्वार चयनमा देखियो । पूर्व पार्टी सभापति रघुवर भट्टपक्षलाई देउवा र आरजूले विश्वास गर्छन् । त्यसकारण पार्टी सभापति मल्ल पक्षलाई ‘माइनस’ गरेको बुझाइ छ । पछिल्लो समय पनि जिल्लामा एकछत्र ‘राज’ गर्दै आएका देउवा निकट हुने दौडमा बिवाद देखिएको हो ।

विगतदेखिनै देउवाले आफू अनुकूल कहिले एक र कहिले अर्को गुटलाई निकट बनाएका छन् । ‘देउवापछि को नेता हुने भन्ने मुख्य बिवाद हो, त्यही बिवाद टिकट वितरणमा पनि देखियो’ एक जिल्ला नेताले भने । कुनैबेला पार्टी सभापति मल्ल देउवाका विश्वासपात्र थिए भने भट्ट बाहिर थिए । हाल मल्ल बाहिर र भट्ट देउवा निकट छन् ।

‘पार्टी हेरेर होइन्, ब्यक्ति हेरेर भोट दिन’
पहिलेको बगरकोट, भागेश्वर र रुपाल गाभिएर बनेको भागेश्वर गाउपालिकाका गाउबस्तीका बजार, चोक चौतारा यतितवेला चुनावी छलफलका केन्द्र बनेका छन् । जताततै चुनाव चिन्ह अंकित व्यानर झुण्डाइएका छन् । यात्रु बोक्ने गाडी समेत पार्टीका झण्डा फर्फराउदै ग्रामीण सडकमा हुइकिरहेका देखिन्छन ।

दोस्रो चरणको निर्वाचन नजिकिदै जादा मतदाताहरु कुन दलको कुन उममेदवार छनौट गर्ने बारे यसपालाको चनावमा भने विगतको भन्दा फरक ढंगले छलफल गरिरहेका छन् । उनीहरु गाउको प्रतिनिधि छनौट गर्न निकै सचेत छन । ‘राम्रो प्रतिनिधि छान्न सके मात्र गाउको विकास हुन सक्छ’, भागेश्वर गाउपालिका ४ का शिक्षक सुरत साउदले भने, ‘यो चुनावपछि गाउमा विकास होला भन्नेमा सवैले विश्वास गरेका छन् । त्यसैले यसपटकको चनावमा पार्टी हेरेर मात्र भोट दिनेवाला छैनन, राम्रो व्यक्ति हेरेर भोट दिने मन बनाएका छन ।’

गाउँपालिकामा समेत ठूलो बजेट आउने कुराले पनि मतदाताहरुमा उत्साह थपेकोछ । विगतमा पहुच हुनेहरुका घर आगनमा मात्रै विकास निर्माण पुगेको देखेका उनीहरु अव आउने बजेटको बाड फाडमा अनिमियततता हुन नदिनका लागि पनि भोट दिदा राम्रो उममेदवार छनौट गर्नु पर्ने बताउछन । ‘विगतमा पहुच भएका व्यक्तिले करौडौ बजेटमा हाली मुहाली गरे’ बगरकोटका स्थानिय जयराज भट्ट भन्छन, ‘अव बजेट साझै आउने भयो,सवैले थाहा पाउछन निगरानी बढछ र काम राम्रो हुनेछ ।’

यहाँका मतदाताहरु एकलौटी रुपमा कुनै पार्टीको जित नहुने बताउछन । प्मुख र उपप्रमुखमा पार्टीगत रुपमा मतदान भएपनि वडा अध्यक्ष देखि सदस्य पदमा भोट दिदा नाता गोता गाउ समाज र आफ्नो क्षेत्रको व्यक्तिलाइ छनौट गर्ने सम्भावना बढि देखिन्छ । जयराज भट्टका अनुसार स्थानिय जनताले त्यहि व्यक्तिलाइ रुचाउनेछन जस्ले उनीहरु संगै बसेर गाउवासीका सुखदुखका साथ दिदै आएको हुन्छ ।

बगरकोट बजारमा लामो समय देखि व्यापार व्यवसाय गरि बसेका प्रेमराज चटौत पनि धेरैबर्षपछि हुन लागेको यसपटकको चुनाव विगतको भन्दा फरक हुने बताउँछन । उनले पार्टी मात्र हेरेर नभइ यसपाला व्यक्ति हेरेर भोट दिने मतदाताहरुको मनस्थिति रहेको बताए । ‘लहरै एउटै दलको सातै ठाउमा मतदान गर्ने सम्भावना कमै छ ’ उनले भने, ‘उम्मेदवारका आकांक्षी धेरै भए, टिकट वितरणमा धेरैले चित्त दुखाएकाछन त्यसैले उम्मेदवार हुन नपाएका बिचमै जिताउने हराउने खेल हुन सक्छ ।’