अन्तर्राष्ट्रिय

उत्तरकोरियाको भनाई चिकित्सकहरुद्वारा अस्वीकार, अब के गर्ला अमेरिकाले ?

एजेन्सी । उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका अमेरिकी विद्यार्थी अटो वार्मबीयरलाई उत्तर कोरियाले भनेजस्तो बोटुलिजमुको संक्रमण नभएको चिकित्सकहरुले बताएका छन् ।

उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका २२ वर्षिय अमेरिकी विद्यार्थी अटो वार्मबीयरको मस्तिष्कको तन्तुमा निकै क्षति पुगेको चिकित्सकहरुले बताएका छन्।

ओहायोका वार्मबीयरलाई उत्तर कोरियाले १५ महिना थुनेर मुक्त गरिदिएको हो। घर फर्किएपछि उनले कसैसँग केही नबोलेको बताइएको छ।

उनको उपचारमा संलग्न एक चिकित्सक डाक्टर ड्यानीयल कान्टरले उनको मस्तिष्क व्युँझिएको देखिएपनि त्यसले कुनै प्रतिक्रिया नजनाइरहेको बताए।

सीन्सीनाटी विश्वविद्यालयको चिकित्सा केन्द्रका चिकित्सकहरुले विरामी र उनको पारिवारिक संवेदनशीलतालाई मध्यनजर गर्दै वार्मबीयरको अवस्था सामान्य हुने वा नहुनेबारे केही बताएका छैनन् ।