पु.समाचार

दाङको तुलसीपुरमा एमाले उम्मेदवारको टुंगो

दाङ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले उम्मेदवारलाई जनताको मन जित्न आग्रह गरेका छन्। निर्वाचनलाई हल्का रुपमा लिन नहुने भन्दै विपक्षी सँगको ठूलो लडाइँ भएको बताए ।

नेकपा (एमाले) तुलसीपुर उपमहानगरपालिकाले पार्टी कार्यालयमा मङ्गलबार आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वस्थानीय विकास मन्त्रीसमेत रहेका ज्ञवालीले गोलाबारुदको लडाइँ नभए पनि भोटको लडाइँ भएकाले निर्वाचनमा विजय हासिल गर्न जनताको मन जित्नुको विकल्प नभएको बताए ।

आर्थिक चलखेल र जाँडरक्सीको प्रलोभनमा पारेर निर्वाचन आफ्नो पक्षमा पार्ने दिन गएको भन्दै उनले सही विचार दृष्टिकोणलाई जनतासामु पु¥याउनुपर्ने बताए । नेता भनेको जनताको भएकाले अधिकांश समय जनताको घरमा बिताउनुपर्ने ज्ञवालीले सुझाव दिए ।

सोही अवसरमा नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य शङ्कर पोख्रेलले चुनावलाई उत्सवका रुपमा लिनुपर्ने बताए । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न कार्यकर्तालाई खटेर लाग्न निर्देशन दिए । उम्मेदवार भएका सबै योग्य र नपाएका अयोग्य नहुने भन्दै सबै मिलेर निर्वाचनमा लाग्न सुझाव पनि दिए ।

त्यसैगरी, कार्यक्रममा नेकपा (एमाले) तुलसीपुर उपमहानगरपालिका प्रमुखका उम्मेदवार घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले आधिकारिक रुपमा प्रमुख तथा उपप्रमुख र १९ वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारको नाम घोषणा गरेका थिए।