विचार/ब्लग

कांग्रेसमा मेयरको टिकट नपाएपनि घिमिरेले देखाईन यस्तो राजनीतिक चरित्र

सुनसरी । धरानका लागि नेपाली कांग्रेसको तर्फबाट मेयरको दाबी गरेकी मनिता घिमिरेले आफुले टिकट नपाए पनि हरु सबै टिकट नपाएका उम्मेद्वारहरुलाई सान्त्वना दिएकी छन् । आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले मुलुकभरका टिकट नपाएका कांग्रेस उम्मेद्वारहरुलाई चित्त फराकिलो बनाएर पार्टीका लागि योगदान दिन आग्रह गरेकी हुन् । स्थानीय नेतृ घिमिरेले पार्टीभित्र रहेको गुट र नेताको घेराभन्दा माथि उठेर पार्टीका लागि क्रियाशील रहन आग्रह गरेकी छन् ।

उनले भनेकी छन्, ‘हो, नेपाली कांग्रेसमा गुट खेमा छ । हरेक लोकतान्त्रिक पार्टीमा गुट खेमा हुन्छ । एमाले, माओवादी राप्रपामा पनि छ । गुट खेमा लोकतान्त्रिक पार्टीमा नहुने अवस्था कल्पना नै गर्न सकिन्न । तर नेपालमा पार्टीभन्दा गुट ठूलो, गुटभन्दा नेता ठूलो हुने गरेको छ । यो रोग सबै पार्टीमा छ ।

देशभरिका कांग्रेस कार्यकर्ताहरुले अब यो रोग हटाउनुपर्छ । चुनावको बेला यो रोग हटाउन सकिन्छ, त्यसैले चुनावको मौकामा गुट र नेताको घेराभन्दा माथि उठेर पार्टीका लागि क्रियाशील बनौं । पार्टी नै सर्वोपरी हो र गुट र नेताभन्दा ठूलो पार्टी हो भन्ने मान्यता स्थापित गरौं । गुट र नेताको घेराभन्दा माथि उठेर रुख हेर्नेहरु नै सच्चा कांग्रेस हुन् ।

सानो चित्त भएकाहरुले मुख हेर्छन्, ठूलो चित्त भएकाहरुले रुख हेर्छन् । देशभरिका कांग्रेस कार्यकर्ताहरुले ठूलो चित्त बनाऔं । रुख चुनाव चिन्ह लिएका उम्मेदवारको विजय नै पार्टीको र आफ्नो विजय हो भन्ने मानौं ।’
नेतृ घिमिरेले पछिल्ला दिन लगातार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै पार्टी र तिनका नेता–कार्यकर्ताहरुलाई यस्तो आग्रह र खबरदारी गर्दै आएकी छन् ।

उनी भन्छिन्,‘दुई र पाँच नम्बर प्रदेश कसैको पनि निजी बिर्ता होइन, त्यहाँका जनता कसैका पनि रैती होइनन् । त्यहाँका जनताको भोट हाल्ने अधिकार खोस्न पाइँदैन । चुनाव रोक्न र सार्न पाइँदैन ।’ उनले सामाजिक सञ्जालमार्फत अन्य पार्टी र उनका नेताहरुलाई समेत व्यंग्य गर्न भ्याएकी छन् । उनले लेखेकी छन्ः
‘राष्टिय जनता पार्टीले चुनावमा भाग नलिने, चुनाव विथोल्ने भनेको सुन्दा गत संविधान सभा चुनावको याद आयो। त्यो चुनावमा मोहन वैद्यको पार्टीले भाग लिएन । चुनाव विथोल्न खोज्यो तर सकेन । चुनावपछि वैद्य पार्टीका रामबहादुर थापा बादल सहित धेरै नेता कार्यकर्ता प्रचण्डको पार्टीतिर फर्कनुभयो ।

पहिलो चरणको चुनावमा वैद्यको पार्टीले भाग लिएको सुनियो । कतैकतै वडामा जितेको पनि सुनियो । वैद्यको पार्टी समाप्त जस्तै भयो ।
दोस्रो चरणको स्थानीय चुनावमा भाग नलिने हो भने राजपा पनि मोहन वैद्यको पार्टीजस्तो हुनसक्छ । राजपाले चुनावमा भाग लिनुपर्छ, चुनावमा भाग लिँदा हारिएला तर समाप्त भइँदैन । चुनावमा भाग नै लिएन भने चाहिँ समाप्त भइन्छ । राजपामा प्रतिष्ठित नेताहरु हुनुहुन्छ । उहाँहरुको राजनीतिक भविष्यको चिन्ता लाग्यो । उहाँहरुलाई चुनावमा भाग लिन विन्ती छ ।’