राजनीति

एक एमाले संगठीत सदस्य यसरी एक छोरालाई काँग्रेस र अर्का छोरालाई माओबादीबाट एउटै वडामा उमेर्द्वार बनाउदैछन्

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिका–३को वडाध्यक्ष पदमा सहोदर दाजुभाइ फरक राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले बलबहादुर ऐरलाई र नेपाली काँग्रेसले उनीका दाइ राजबहादुर ऐरलाई वडाध्यक्ष पदको उम्मेदवार तोकेको हो ।

एकै घरपरिवारका दाजुभाइले दुई फरक राजनीतिक दलबाट वडाध्यक्षमा टिकट पाएपछि परिवार, आफन्त, इष्टमित्रहरु कसलाई मत दिने भन्नेबारे अन्योलमा छन् ।

काँग्रेसबाट टिकट पाएका राजबहादुरले भने – “यस्तो अवस्थामा घरमा रहेका मत नबाँडिइकन जता गएपनि एकलौटी जान्छ ।”

“दाइ वा भाइमध्ये एकजनाले उम्मेदवारी छोड्नुपर्छ भन्ने छलफल घरपरिवारमा चलिरहेको र आफू जेठो भएकाले भाइले छोड्नु उचित हुने सल्लाह सबैले दिएको दाजु राजबहादुरले बताए ।

एउटै आमाका सन्तान भए पनि फरक विचार र सिद्धान्त भएकाले फरक सपना र योजना बनाएर चुनावी दौडमा उत्रिएको उनीहरुको भनाइ छ । बलबहादुरले झन्डै ४५ दिनअघि नै नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षको टिकट सुनिश्चित गरी आफ्नो चुनावी दौडमा होमिएका हुन् ।

“दाइले टिकट पाएमा आफूले नउठ्ने मनःस्थिति पहिल्यै बनाएको थिएँ, बलबहादुरले भने – दाइले डेढ साताअघिमात्र टिकट पाए पनि अब आफूले छोड्न सक्ने सम्भावना छैन, धेरै अगाडि बढिसकेँ ।”

चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले मत माग्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गर्मी बढ्दै गएसँगै चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ ।

चुनावी सरगर्मीका बीच यतिबेला टोल र बस्तीका निजी घरमा विभिन्न दलका झन्डा टाँग्ने प्रतिस्पर्धा पनि बढेको छ ।

खासगरी ग्रामीण क्षेत्रका घर घरमा पार्टीका झन्डा र चुनाव चिह्न अङ्कित ब्यानर झुड्याउने रोचक प्रतिस्पर्धा देखिएको छ ।

“एउटा पर्टीको मान्छे आएर घरमा झन्डा टुङ्ग्याउँछ, स्थानीय श्यामराज चौधरीले भने – लगत्तै घरमा पुग्ने अर्को पार्टीको मान्छेले आफ्नो पार्टीको झन्डा टाँगीहाल्छ ।”

जोसुकैले घरमा झन्डा टाँगे पनि विरोध कसैको नगर्ने सहमति घरपरिवारका सदस्यमा बनेको छ ।

कैलाली जिल्लामा एक उपमहानगर (धनगढी), छ नगरपालिका र छ गाउँपालिकासमेत १३ स्थानीय तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धा काँग्रेस, एमाले, माओवादी केन्द्र, नेपाल फोरम लोकतान्त्रिक र राप्रपाका बीच हुन लागेको मतदाताको विश्लेषण छ ।

गएको संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ र ३ बाट तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार, क्षेत्र नं २ बाट एमालेका उम्मेदवार, क्षेत्र नं ४ बाट माओवादी केन्द्रका उम्मेदवार र क्षेत्र नं ५ र ६ बाट काँग्रेसका उम्मेवार विजयी भएका थिए ।

स्थानीय तहको चुनावमा होमिएका सबै उम्मेदवार आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मतदातालाई आकर्षित गर्न आकर्षक नारा र योजना सुनाउन थालेका छन् ।

एक दाजु काँग्रेस र भाई माओबादी केन्द्रबाट वडाका उमेर्द्वार भएको वडामा बाबु भने एमालेका संगठीत सदस्य भएको स्रोतको दावी छ । बाबु एमालेको संगठीत सदस्य भएको कुरा पुष्टी भने भएको छैन ।