राजनीति

विराटनगरमा किन उम्मेद्वार छनौट गर्न सकेन कांग्रेसले ? यस्तो छ रहस्य !

विराटनगर । पूर्वाञ्चलमा दोश्रो चरणको चुनावको रौनकले छोइसकेको छ । सबै राजनीतिक दलहरु आ–आफ्ना उम्मेद्वारहरु छनौट गर्ने काममा व्यस्त छन् । अधिकांश उपमहानगर र गाउँपालिकाहरुमा सबै पार्टीहरुले मेयर र उपमेयरका उम्मेद्वाहरु छनौट गरिसकेका छन् तर पूर्वाञ्चलकै सबैभन्दा प्रभावशाली निर्वाचन क्षेत्रको रुपमा चिनिने विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले उम्मेद्वारहरु तय गर्न सकेको छैन । मोरङ जिल्ला नेपाली कांग्रेसका लागि आफैमा ऐतिहासिक ठाउँ हो ।

कांग्रेसका संस्थापक नेता वीपी कोइरालादेखि पछिल्लो पुस्ताका स्थापित नेताहरुका लागि समेत विराटनगर आफैमा ऐतिहासिक र महत्वपूर्ण स्थानका रुपमा रहँदै आएको छ । सोही ठाउँमा चाहि किन अहिलेसम्म कांग्रेसले उम्मेद्वार छनोट गर्न सकेन ? यो विषयमा सबैको ध्यान अहिले विराटनगतर्फ खिचिएको छ । विराटनगरमा कांग्रेसले उम्मेद्वार तय गर्न नसक्नुमा पार्टीको आन्तारिक अन्तरविरोधले समेत काम गरेको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

विराटनगर महानगरपालिकाको मेयरको उम्मेद्वारमा अहिले ४ जना नेताहरुको प्रतिष्पर्धा कांग्रेसभित्र देखिन्छ । भीम पराजुली, डा.डिला संग्रौला, अमृत अर्याल र विश्वनाथ साहमध्ये कसले मेयरको उम्मेद्वार हात पर्ना सक्लान् ? भन्ने होडवाजी अहिले विराटनगरमा देखिन्छ । भीम पराजुलीलाई केन्द्रीय नेताहरु शेखर कोइराला, सुजाता कोइराला र कृष्ण सिटौलाको समर्थन रहेको बताइएको छ भने डा.डिला संग्रौलालाई प्रधानमन्त्री देउवाको समर्थन रहेको देखिन्छ ।

पराजुली महेन्द्र मोरङ क्याम्पसमा २ पटक स्ववियू सभापति भइसकेका नेता हुन् । उनी अहिले विराटनगर महानगरपालिकामा पार्टीका नगर सभापति समेत हुन् । उनी स्थानीय युवाहरुका बीचमा निकै लोकप्रिय समेत रहेका छन् । त्यस्तै डा. डिला संग्रौला पनि विराटनगरमा लोकप्रिय महिला नेतृ हुन् ।

उनले विराटनगरबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । महिलाहरुको हक हितका लागि समेत लामो समय लडेकी उनले आफ्नो अध्ययनका सिलसिलामा विराटनगरकै बारेमा सोधपत्र लेखेर विद्यावारिधि गरेकी छन् । उनलाई पार्टी सभापति देउवाले जसरी पनि मेयरको उम्मेद्वारमा टिकट दिने तयारी गरिरहेको बताइन्छ ।

त्यस्तै, अमृत अर्याल विराटनगरका अर्का लोकप्रिय नेता हुन् । उनको पक्षमा अहिले मोरङका कांग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बु लगायतका नेताहरु देखिएका छन् । अर्याललाई स्थानीय कांग्रेस नेता कार्यकर्ताको समेत राम्रो समर्थन रहेको बताइन्छ । क्षेत्र नं.५ का सांसद समेत रहेका अर्यालले अघिल्ला चुनावमा सांसदनै जितेको हुनाले विराटनगरमा कांग्रेसको जितका लागि उनलाई टिकट दिनुपर्ने एकथरी स्थानीय नेता कायर्कर्ताको बुझाई रहेको देखिन्छ ।

विराटनगरका अर्का लोकप्रिय नेता हुन्, विश्वनाथ रिजाल । उनले पनि विराटनगर महानगरको मेयरको टिकट आफुले पाउनुपर्ने दाबी गरिरहेका छन् । उनलाई कांग्रेसका केन्द्रीय नेताहरु रामचन्द्र पौडेल,महेश आचार्य र मिनेन्द्र रिजालले समर्थन गरेको बताइएको छ । केन्द्रीय नेता महेश आचार्यसँगै नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका रिजालले जसरी पनि मेयरको टिकट पाउनुपर्ने एकथरी कांग्रेस नेता कार्यकर्ताहरुको दाबी रहेको देखिन्छ ।

यसबाट प्रष्ट हुन्छकि विराटनगरमा कांग्रेसभित्रकै आन्तारिक अन्तरविरोधका कारण उम्मेद्वारी तय हुन सकेको छैन । यद्यपि, उम्मेद्वारको दाबी गर्ने स्थानीय नेताहरुले भने जुन–जुन गुटमा भएपनि एकअर्को समुहबीच सन्तुलन मिलाएर टिकट हात पार्ने तयारी गरिरहेको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।