खेलकुद

जर्मनीको सानदार जित

एजेन्सी । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने शद्दरन मुस्ताफी, अमिन युनिस, जुलियन ब्रान्ट र जुलियन ड्रेक्सलरले एक एक गोल गरे । ११ औं मिनेटमा ड्रेक्सलरले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए । वाग्नरले १६ र २९ तथा युनिसले ३८ औं मिनेटमा गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४–० को अग्रता लियो ।

मुस्ताफीले ४७ तथा ब्रान्टले ७२ औं मिनेटमा गोल गरेपछि जर्मनीको अग्रता ६–० मा पुग्यो । ८५ औं मिनेटमा वाग्नरले ह्याट्रिक पूरा गरेपछि जर्मनी ७–० ले विजयी भयो । छनौट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यस्तै समूह ‘सी’ अन्तर्गत राति नै भएको खेलमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हरायो । दोस्रो स्थानको आयरल्याण्डको ६ खेलबाट १३ अंक भएको छ । समूहकै अर्को खेलमा नर्वे र चेक गणतन्त्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।