पु.समाचार

यसरी नेपाल भारत सीमा नाका ४८ घन्टा बन्द हुंदैछ

इलाम । दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ ।

सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
भारतसँग सीमा जोडिएका पूर्वका सीमा नाका दुई दिन बन्द गरिनेछ । निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि ४८ घन्टा सीमा नाका बन्द गर्न लागिएको हो ।

यस विषयमा दुई देशका उच्च पदस्थ अधिकारीबीच छलफल भइसकेको प्रजिअ दाहालले बताए । दाहालकाअनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ ।

इलामका प्रमुख सीमा नाका पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्ककता बढाइएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् ।

सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।