पु.समाचार

नेपालबाट कारमा यात्रा गर्दै यसरी जर्मनी पुग्दैछन् यी राजदूत !

काठमाडौं । विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारी गरेका छन् ।  जर्मन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्कंदै छन् ।

११ हजार किलोमिटरभन्दा बढीको दूरी कारमा चढेर स्वदेश फर्कने योजना रहेको उनले सुनाए । नेपालमा कार्यकाल सकेपछि कार चढेर स्वदेश फर्कने सम्भवतः पहिलो राजदूत जर्मन राजदूत मायर हुनेछन् ।

योजनाअनुसार शनिबार बिहान ४ बजे ज्ञानेश्वरस्थित जर्मन दूतावासबाट उनको कार यात्रा सुरु हुनेछ । दूतावास परिसरमा उनको यात्राका लागि मित्सुबिसी कार तयारी हालतमा राखिएको छ । एक जर्मन साथी र आफूले आलोपालो कार हाँक्ने उनले सुनाए ।

काठमाडौंबाट सुरु हुने उनको यात्रा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर एकरात बिताएपछि दोस्रो दिन महेन्द्रनगर पुग्नेछ । ‘नेपालका मन पर्ने स्थानमा लुम्बिनी पनि एक हो । धेरैपटक लुम्बिनी पुगेर बसेको छु । अर्को ठाउँ मुस्ताङ हो’, उनले भने ।

महेन्द्रनगरमा एकरात बिताएर सोमबार भारत प्रवेश गर्ने तयारीमा राजदूत मायर छन् । ‘लामो दूरीको यात्रा गर्ने मेरो सोख हो’, राजदूत मायरले भने, ‘मेरो कार यात्राका लागि सबै तयारी भइसकेको छ । आशा छ, यात्रा रमाइलो हुनेछ ।’ भारतपछि पाकिस्तानको बलुचिस्तान पुगेर रात बिताउने उनको योजना छ ।

पाकिस्तानमा उनलाई त्यहाँको सेनाले ‘एस्कर्ट’ गर्नेछ । इरान, टर्की, अर्मेनिया, ग्रिस, इटली, स्विजरल्यान्ड हुँदै ह्यामवर्ग, जर्मनीमा रहेको आफ्नो घर पुगेर राजदूत मायरको यात्रा टुंगिनेछ । ती मुलुक हुँदै कार यात्रा गर्न उनले भिसा लिइसकेका छन् ।

अफ्रिकी मुलुक लिवियामा राजदूत हुँदा मायरले सहारा मरुभूमिको लामो यात्रा कारमै गरेका थिए । ‘लामो दूरीको कार यात्रा गर्नु मेरो एउटा सोख नै हो । विदेश सेवाको अन्त्यमा सबैभन्दा लामो कार यात्रा हुँदै छ’, उनले उत्साहित हुँदै भने ।