राजनीति

भरतपुरमा यस्तो छ प्रचण्ड र ओलीको चुनाव जित्ने अन्तिम रणनीति, कांग्रेस मुकदर्शक !

चितवन । भरतपुर महानगरपालिकाको मतगणना विवाद निर्वाचन आयोगको निर्णयपछि अब पुन मतदानतर्फ केन्द्रीत भएको छ । निर्वाचन आयोगको शनिबारको बैठकले पुनः मतदान गरेर जाने निर्णय गरेपछि यो विषयमा सबै राजनीतिक दल र उनका नेताहरुले आ–आफ्नो अनुकुल व्याख्या र विश्लेषण गरिरहेका छन् ।

वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेकै बेला जेठ १४ गते राती मतत्रप च्यातिएको थियो । त्यसको करिब एक हप्तापछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको छ । यो निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेले असहमति जनाइरहेको छ भने कांग्रेस र माओवादीले सहमति जनाएका छन् ।

भरतपुरमा अबको निर्वाचन प्रक्रिया कसरी अघि बढ्ला त ? भन्ने विषयमा चौतर्फी बहस सुरु भएको अवस्था छ । आयोगले पुन मतदान गर्ने निर्णय गरेपनि मतदानको मिति र स्थान भने तोकिसकेको छैन । एमालेको असन्तुष्टिलाई लिएर आयोगका प्रमुख निर्वाचन आयुक्तले दलहरुमा असन्तुष्टि देखिए कानुन संशोधन गरेर जान समेत सल्लाह दिइसकेका छन् ।

उनले संवैधानिक प्रावधान र विगतको नजिरलाई हेरेर आयोगले यो निर्णय गरेको समेत बताएका छन् । यद्यपि, आयोगले अब भरतपुरमा पुन निर्वाचन भने गर्ने कुरा निश्चित भएको छ ।

केपी ओली र प्रचण्डको प्रतिष्ठाको विषय !
भरतपुर महानगरपालिकाको निर्वाचनमा अब केन्द्रीय राजनीति हावी हुने देखिएको छ । प्रधानमन्त्री पुत्री रेणु दाहालले चुनावमा उम्मेद्वारी दिएलगत्तै केन्द्रीय राजनीति हावी भएको देखिए पनि पछिल्लो समय एमालेको तर्फबाट उम्मेद्वारी दिएका देवी ज्ञवालीसँगको चर्को प्रतिस्पर्धाका कारण केन्द्रीय राजनीतिको हस्तक्षेप थप बढेको देखिन्छ । मतगणनाका क्रममा एकले अर्कोलाई उछिन्ने नाममा ज्ञवालीको मतपरिणाम अघि देखिदै गएका कारण माओवादी कार्यकर्ताहरु आक्रोसित भएर मतपत्र च्यातेपछि भरतपुर केन्द्रीय राजनीतिको वरिपरि थप घुम्न थाल्यो ।

निर्वाचन आयोगको शनिबारको निर्णयले त अब पुरै मुलुक भरपुरमा केन्द्रीत भएको छ । यसमा अब एमाले र माओवादीको पूरै प्रतिष्ठा जोडिएर गएको छ । माओवादी अध्यक्ष प्रचण्डको पार्टी नेतृत्वको हैसियत र एमाले अध्यक्ष ओलीको हैसियत समेत जोडिएपछि भरतपुर वडा नं. १९ मा हुने भनिएको दोश्रो चरणको निर्वाचन अब निकै उत्तारचढावका बीच गुज्रिने निश्चित जस्तै देखिएको छ ।

कांग्रेस–माओवादीको गठबन्धन भएपनि कांग्रेसलाई भरतपुर महानगरपालिकाको निर्वाचनमा त्यति धेरै चासो नहुन सक्छ, किनभने सरकारको नेतृत्व गर्ने तयारीमा रहेको सो पार्टी अब सरकार सञ्चालनमा केन्द्रीत हुने देखिन्छ । त्यसैले पनि भरतपुरमा माओवादी र एमालेको लडाई केन्द्रीत हुने देखिन्छ ।

पैसा र शक्तिको चलखेल बढ्ने खतरा !
सिंगो केन्द्रीय राजनीतिनै हावी भएपछि अब भरतपुरको मतदान प्रक्रिया सहज हुने देखिदैन । पार्टीहरुको आ–आफ्नो प्रतिष्ठा जोडिएपछि अबको मतदान प्रक्रियामा पैसा र शक्तिको दुरुपयोग हुने प्रवल सम्भावना देखिन्छ । ओली र प्रचण्डकै हैसियतसँग भरतपुरको निर्वाचन प्रक्रिया जोडिएपछि अब जसरी पनि उनीहरुले त्यहाँ निर्वाचन जित्ने रणनीति बनाउन सक्ने प्रवल सम्भावना छ ।

महानगरको एउटा सानो वडामा निकै धेरै पैसाको खोलो बग्न सक्ने र निर्वाचनको दिनदेखि मतगणना प्रक्रियासम्मनै फेरि अर्को लफडा हुन सक्ने सम्भावना पनि धेरै छ । यद्यपि, एकपटक लफडा भैसकेको र आयोगलेनै निर्णय गरेको हुनाले निकै संयममतापूर्वक निर्वाचन सम्पन्न हुने सम्भावना पनि उत्तिक्कै देखिन्छ ।

असारमा हुने दोश्रो चरणको निर्वाचन निकै पर भएको र यो निर्वाचन लगत्तै गर्नुपर्ने भएकोले पनि सिंगो पार्टी र त्यसका नेता कार्यकर्ताहरु भरतपुरमै केन्द्रीत हुनेछन्, जसले भरतपुरलाई फेरि अर्को रणमैदानमा परिणत गर्न नसक्ला भन्न सकिन्न । त्यसका लागि सुरक्षा संयन्त्रले समेत निकै गम्भीर तयारी गर्नुपर्ने जानकारहरु बताउँछन् ।