पु.समाचार

काँग्रेसबाट निर्बाचित प्रमुखले गोरखालाई यसरी नमुना गाँउ बनाउदैछन्

गोरखा । गोरखाको विकट पर्यटकीय गाउँ लाप्राकका सन्तोष गुरुङ गाविस सचिव, अध्यक्ष हुँदै हालै सम्पन्न स्थानीय तह निर्वाचनमार्फत गाउँपालिका प्रमुख बने । पाँचवर्षे कार्यकालमा गाउँलाई नमुना पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने उनको धोको छ ।

लाप्राकको गुप्सीपाखालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने, तल्लो मनास्लुमा पर्यटक भित्र्याउने, कासीगाउँमा भ्यूटावर बनाउनेजस्ता महत्वाकाङ्क्षी योजना गुरुङको छ । निर्वाचन जितेपछि पदबहाली गर्दै गुरुङले पहिलो निर्णय जलविद्युत्मा लगानी गरी जलविद्युत् निकाल्दै बिक्री गरी गाउँको गरिबी न्यूनीकरण गर्नेमा हस्ताक्षर गरे । दुर्गम गाउँलाई गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने, जङ्गलमा खेर गइरहेका जडीबुटीलाई कसरी उपयोगमा ल्याउने, भूकम्पबाट विस्थापित भएका गाउँलेलाई कहाँ स्थापित गर्ने भन्ने चुनौती गुरुङलाई छ ।

“लुइँटेलको अमरज्योति माविमा पढ्दादेखि नै गाउँलेले यो केटाले गाउँको विकासका लागि केही न केही गर्छ भन्ने विश्वास लिएका रहेछन्”, धार्चे गाउँपालिका प्रमुख गुरुङले पुराना कुरा स्मरण गर्दै भने, “पाँच वर्ष लाप्राकको सचिव (कर्मचारी)का रुपमा काम गरेँ । २०५४ को स्थानीय निकाय निर्वाचनबाट सर्वसम्मत लाप्राक गाविस अध्यक्ष बनेँ ।”

सचिव भएर काम गर्दा प्रशासनिकरुपमा कामकाज कसरी गर्ने भन्ने जानकारी हासिल गरेको बताउँदै उनले गाविस अध्यक्ष बनेपछि गाउँले के चाहन्छन् ? समस्या के हुन् भन्ने पहिचान गरी समाधानका उपाय खोजेपछि गाउँले खुसी भएको बताए ।

सचिव हुँदा गाउँलेका लालपुर्जा, नागरिकता, विवाह दर्तालगायत कामकाज सफलरुपमा सम्पन्न गरेको उनको भनाइ छ । सचिव र अध्यक्ष हुँदा सँगालेका अनुभव नयाँ संविधानअनुसार स्थानीय तहको निर्वाचन हुँदा गाउँपालिका प्रमुख पदमा निर्वाचन लड्दा उपयोगी बनेको गुरुङको भनाइ छ ।

भावी योजनाबारे उनले भने, “म एक्लो व्यक्ति कराएर केही विकास हुँदैन । म योग्य समूह रहेको विज्ञ टोली बनाउँछु र ७ वडाका आवश्यकता पहिचान गरी गुरुयोजना बनाएर विकास, निर्माणका काम सुरु गर्छु ।” सचिव, अध्यक्ष हुँदा पारदर्शी ढङ्गले गाउँलेको पक्षमा काम गरेकाले गाउँलेले पुनः गाउँपालिका प्रमुखमा निर्वाचित गराउँदै गाउँलाई समृद्ध र विकसित बनाउन निर्वाचनमार्फत आग्रह गरेको गुरुङले तर्क गरे ।

भूकम्प र पहिरोबाट विस्थापित केरौँजालगायत गाउँका बस्तीलाई कहाँ स्थापित गर्ने, धार्चे गाउँपालिकाको केन्द्र कहाँ राख्ने, सबै वडामा विकासका पूर्वाधार कसरी विस्तार गर्ने, धार्चे र मनास्लु क्षेत्रको पर्यटन प्रवर्धन गर्दै जडीबुटीको व्यवस्थापन कसरी गर्ने भन्नेलगायत चुनौती गुरुङका सामु छन् । गुरुङले लामो समयदेखि नेपाली काँग्रेसका विभिन्न पदमा रहेर राजनीति गर्दै ‘अठारसय खोला’ क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गरेका थिए ।

निर्वाचनमा विजयी भएका तथा पराजय भोगेका दलका नेता तथा कार्यकर्ताको सहयोगमा धार्चे गाउँपालिकालाई नमुना पर्यटकीय गाउँका रुपमा विकास गर्ने अठोट गुरुङले लिएका छन् ।

भूकम्पले ध्वस्त गाउँ पुनर्निर्माणमा ढिलाइ हुँदा टहरोमा गाउँपालिकाको कार्यालय सञ्चालन गर्नु परेको छ । निजी आवास पुनर्निर्माण गर्न गाउँमा बैंक नहुँदा अनुदान झिक्न गाह्रो भएको र अनुदानबाटै वञ्चित हुनु परेको गुनासो गाउँलेको रहेको उपप्रमुख फूलमाया गुरुङले जानकारी दिए ।