समाचार

डीआईजी नवराज सिलवालले आफ्नो पिछा गर्ने आइजीपी प्रकाश अर्यालका जासुस रंगेहात पक्रेपछि…!

काठमाण्डौ । प्रहरी महानिरीक्षकको पदोन्नतिको बिषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा डिआइजी नवराज सिलवालमाथि आफ्नै प्रहरी संगठनभित्रको नेतृत्वबाट षडयन्त्र भएको कुरा पर्दाफास भएको छ । गत बिहीबार ललितपुरबाट उनको पिछा गरिरहेका दुई सुराकी पक्राउ परेपछि यो कुराको पुष्टि भएको हो ।  आफ्नो पछाडि सुराकी लाने गरेको पुष्टि भएपछि डिआइजी नवराज सिलवालले तत्काल राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर आफ्नो जीवन खतरामा रहेको भन्दै उजुरी दिएका छन् । उनले उजुरीमा नेपाल प्रहरीकै महानिरीक्षक प्रकाश अर्यालबाट सुराकी खटाएको संकेत समेत गरेका छन् ।

आइजीपी अर्यालको आदेशमा डीएसपीहरु भूपेन्द्र खत्री र सविन प्रधानले प्रहरी हेडक्वार्टरबाट इन्स्पेक्टर सञ्जय तिमल्सिना र सई सुवास कटवालको कमाण्डमा हतियारसहित दुई टोली खटाएको श्रोतको दाबी छ । यो टोलीका दुई जनालाई डीआइजी सिलवालले बिहीबार पहिचान गरेलगत्तै उनी आयोगको कार्यालयमा उजुरी गर्न पुगेका थिए ।

सिलवालको सुराकी गर्दै पिछा गरेको अबस्थामा प्रहरी सहायक निरीक्षक सुरज श्रेष्ठ र प्रहरी जवान दिनेश केवटको पहिचान खुलेको थियो । बिहीबार ठमेलमा साथीलाई भेटेर फर्कने क्रममा उनीहरुले बा ७ प ५०९५ नम्बरको मोटरसाइकलबाट डीआइजी सिलवाललाई पिछा गर्दै सुराकी गरेका थिए । ठमेलबाट मोटरसाइकलले पिछा गर्दै आएको शंका लागेपछि ललितपुरको सानेपामा पुगेपछि सिलवालको सुरक्षार्थ खटिएका प्रहरीले सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनीहरुले आफूहरु प्रहरी हेडक्वार्टरबाट खटिएको खुलासा गरेलगत्तै डिआइजी सिलवाल झसंग भएका थिए ।

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहेको अवस्थामा बिरामी बिदामा रहेको र प्रहरी महानिरीक्षकको पदोन्नतिको बिषयमा सर्वोच्च अदालतमा मेरो मुद्दा विचाराधीन रहेको अवस्थामा प्रहरी प्रधान कार्यालयबाट ममाथि सर्भि गर्ने, मेरो परिवारलाई तर्साउने, धम्काउने लगायतका कामहरु भइरहेको’ डीआइजी सिलवालले आयोगमा दिएको उजुरीमा उल्लेख छ ।

नेपाल प्रहरीमा आफ्नै सहकर्मीविरुद्ध कति खतरानाक खेल भइरहेको हुँदो रहेछ भन्ने उदाहरण यो घटनाले पुष्टि समेत गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी अर्याल यसबेला बिरामी बिदामा बसिरहेका छन् । प्रहरी महानिरीक्षकको पदोन्नतिको बिषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा आफ्नै संगठनभित्रबाट यस्तो हर्कत भएपछि राष्ट्रिय मानवअधिकार आयोगले कस्तो कदम चाल्ने हो त्यो भने हेर्न बाँकीनै छ ।