पु.समाचार

इलाम काँग्रेसका स्थानीय निर्बाचनका लागीमा उम्मेदवार यस्ता छन्

इलाम । नेपाली काँग्रेस इलामले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा काँग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुङ्गो लगाएको हो ।

नेपाली काँग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार १० वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएर सिफारिसका लागि केन्द्रमा पठाइएको छ । “जिल्लादेखि पठाएको नाम केन्द्रले अनुमोदन गरेर पठाउँछ,” खड्गीले भने ।

काँग्रेसले इलाम नगरपालिका प्रमुखमा हिमालय कर्माचार्य र उपप्रमुखमा चन्दा कार्कीलाई उम्मेदवार बनाएको छ । माई नगरपालिका प्रमुखमा विष्णु कार्की र उपप्रमुखमा चन्द्रमाया सुब्बा, सूर्योदय नगरपालिका प्रमुखमा दुर्गा बराल र उपप्रमुखमा बन्दना पौडेल (अधिकारी), देउमाई नगरपालिका प्रमुखमा होम दुलाल र उपप्रमुखमा सूर्यकला राईलाई उम्मेदवार बनाइने भएको छ ।

त्यसैगरी, चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र उपाध्यक्षमा लक्ष्मी मिश्र, माङसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु माखिम, रोङ गाउँपालिका अध्यक्षमा शमशेर राई र उपाध्यक्ष चन्द्रकला राई ९बुढाथोकी०, फाकफोकथुम गाउँपालिका अध्यक्षमा रामकुमार श्रेष्ठ र उपाध्यक्षमा डालाकुमारी विष्टलाई उम्मेदवार बनाइने भएको छ ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकामा यसअघि नै काँग्रेसले उम्मेदवार चयन गरिसकेको छ । काँग्रेसले ८१ वटा वडामा वडाध्यक्ष र अन्य सदस्यहरूको उम्मेदवारीसमेत घोषणा गरिसकेको सचिव खड्गीले बताए ।

गाउँ–गाउँमा मतदाता शिक्षा

यसैबीच, पहिलो चरणको निर्वाचनमा धेरै मतपत्र बदर भएपछि दोस्रो चरणको निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय इलामले गाउँ–गाउँमा मतदाता शिक्षा सुरु गरेको छ ।

एक महिनापछि धकेलिएको स्थानीय निर्वाचन सम्पन्न गर्न कार्यालयले स्थागित गरिएको मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको हो । दुई चरणमा चुनाव तोकिनासाथ कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई स्थगित गरेको थियो ।

जिल्लाका २४४ मतदान स्थानमा नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । सबै मतदान केन्द्रमा एक÷एकजनाका दरले २४४ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए ।

जिल्लामा चार नगरपालिका र ६ गाउँपालिकामा ८१ वटा वडा छन् ।