खेलकुद

आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदै

काठमाण्डौ । अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालको आयोजनामा दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो जेठ २७ गतेदेखि सुरु हुने भएको हो ।  प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने अन्तर्राष्ट्रिय मार्सलआर्ट संघ अमेरिकाका दक्षिण एसियाली प्रमुख समेत रहेका आयोजक संघका संरक्षक शान्त ठोकरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा हुने बताइएको छ । १८ वर्षमाथिको कुमुते र कातामा ग्रान्ड च्याम्पियनका लागि समेत भिडन्त हुनेछ । त्यसमा पहिलो हुनेले १२ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतियोगिता पूर्व जेठ २५ मा डान टेस्ट र तालिम तथा जेठ २६ मा रेफ्री सेमिनार हुनेछ । उक्त कार्यक्रमका लागि विश्व कराते महासंघ (डब्लुकेएफ) रेफ्री काउन्सिलका सह–सचिव सिहान फरिबा मदानी पनि नेपाल आउने छन् । विश्व कराते महासंघबाट सह–सचिव स्तरको पदाधिकारी नेपाल आउन लागेको पहिलो अवसर भएको ठोकरले बताए ।