पु.समाचार

यसकारण सफल भइन् रञ्जु दर्शना !

काठमाडौं । काठमाडौं सहर र नेपाली राजनीति दुवै उस्तै छन्, प्रदूषित, दुर्गन्धित र फोहोर । काठमाडौंका बासिन्दा सहरको धुलोमैलोबाट त्राण पाउन ताजा हावाको खोजीमा भड्किरहेका देखिन्छन् । राजनीतिको दुर्गन्धबाट मुक्ति पाउन नेपाली नागरिक पनि ताजा प्रतिबद्धतासहितको ताजा अनुहार खोजिरहेका छन् । रञ्जु दर्शनाजस्तै ।

एक महिनाअघि जब रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरिन्, धेरै ट्विटर र अनलाइन ‘क्रिटिक’हरूले यसलाई ‘मजाक’ सम्झिए । कतिपयले यसलाई काम गर्न नसकिरहेका वा नचाहिरहेका पुराना अनुहारहरूप्रति वितृष्णा वा व्यंग्यका रूपमा चित्रण गरे । धेरैले भने हलुकासँग लिए उनको उम्मेदवारीलाई ।

निर्वाचन कानुनअनुसार २१ वर्ष पुगेको नेपाली नागरिक स्थानीय तहको उम्मेदवार बन्न पाउने प्रावधान भए पनि सामाजिक सञ्जालका प्रयोगकर्ताले २२ वर्षीया रञ्जु दर्शनालाई ‘अन्डरएज उम्मेदवार’कै रूपमा चित्रण गरिरहे । रञ्जु भने आफ्ना ‘क्रिटिक’हरूबाट बेपरबाह रही काठमाडौंवासीलाई ताजा हावा नभए पनि ‘ताजा फिलिङ्स्’ बाँड्न व्यस्त भइन् । मेयर बनेँ ताजा हावा पनि बाँड्छु भन्दै ।

पहिलो चरण स्थानीय निर्वाचनको दुई सातामा रञ्जुले आफूलाई जबर्जस्त राजनीतिक सेलिब्रेटीको दर्जामा उभ्याइसकेकी छन् । यतिखेर ‘दिग्गज’हरू पनि उनलाई ध्यान दिन बाध्य भएका छन् । काठमाडौं महानगरमा यी २२ वर्षीया युवतीले एमाले र कांग्रेसपछिको तेस्रो मत ल्याएपछि नागरिकहरू भरपर्दो विकल्प राम्रैसँग खोजी गरिरहेका रहेछन् भन्ने खुलस्तै भएको छ । रञ्जुलाई मानिसहरूले यति धेरै ध्यान दिन थालेका छन्, मानौं उनी काठमाडौंकी मेयर नै भइसकिन् ।

रञ्जुले पुष्टि गरिदिएकी छन्, उनको उम्मदेवारी लहड थिएन, महानगरको आवश्यकता थियो । काठमाडौंवासीको घरदैलोमा पुग्न उनीसँग चिह्न पाएपछिको छ दिनको सट्टा दोब्बर दिनमात्रै हुन्थ्यो भने उनले एमालेका विद्यासुन्दर शाक्यलाई आच्छुआच्छु नै पारिदिने रहिछन् । शनिबारको अन्नपूर्ण पोस्टको साप्ताहिक परिशिष्टांक फुर्सदमा लेखिएको छ ।