अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाँई अनुसन्धानको घेरामा

एजेन्सी । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका छन्।

संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरुले ३६ वर्षीय कुश्नरसंग उनीहरुले थालेको छानविनका निम्ति महत्वपूर्ण जानकारी हुन सक्ने विश्वास गरेको एनबीसीन्यूजलाई अधिकारीहरुले बताएका छन्।

एफबीआइले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका रुसबाट भएको सम्भावित हस्तक्षेप र ट्रम्प अभियानसंग त्यसको सम्बन्धबारे छानविन थालेको छ।

नाम नखुलाइएका अमेरिकी अधिकारीहरुले कुश्नरबारे अनुसन्धानकर्ताहरुको चासो हुनु भनेको उनी कुनै अपराधमा संलग्न भइहालेको भन्ने गरी बुझ्न नहुने बताएका छन्। साथै, कुश्नरविरुद्ध कुनै कानुनी अभियोग लगाउने योजना नभएको उनीहरुले बताए। कुश्नरले गत वर्ष रुसी राजदूत सेर्गेइ किस्ल्याक तथा एक रुसी ब्यांकर सेर्गेइ गोर्कोभसंग भेटेको बताइएको छ।

कुश्नरका वकिलका अनुसार उनले यसअघि नै आफुसंग ती भेटघाट बारे रहेका जानकारी कंग्रेस समक्ष बाँड्न तयार रहेको बताइसकेका छन्।